महोत्तरी /  प्रदेश स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको बैठक समितिका अध्यक्ष तथा मधेश प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष माननीय नाथु प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न भयो ।

उक्त अवसरमा बोल्नु हुँदै चौधरीले मधेश प्रदेशका बालबालिकाहरुमा कुपोषणको समस्या रहेकोले सबै पक्ष मिलेर कुपोषणका विरुद्ध काम गर्नु पर्ने आवश्यकता औल्याउनुभयो । 

“मधेश प्रदेशले कुपोषण मुक्त प्रदेश बनाउने अभियान थालनी गरिसकेको छ ।” वहाँले भन्नुभयो “पोषणमैत्री स्थानीय तह सम्बन्धी अभिमुखीकरण तथा कार्यक्रमहरु लागु गरेर समुदाय स्तरसम्म अभियान संचालन गर्ने तथा जिल्ला र पालिका स्तरका पोषण तथा खाद्य सुरक्षा समितिलाई सक्रिय बनाउनु पर्छ ।”

सोही बैठकमा बोल्नु हुँदै प्रदेश सचिव उद्धव प्रसाद रिजालले पोषण र खाद्य सुरक्षा सम्बन्धी जनचेतना अभिवृद्धिलाई पनि जोड दिनु पर्ने कुरा बताउनुभयो ।

वल्र्डभिजन इन्टरनेसनल नेपाल तथा साझेदार संस्था एकिकृत ग्रामिण विकास समाज, महोत्तरीको विशेष सहयोगमा सम्पन्न उक्त बैठकमा शिक्षा मन्त्रालयका निमित्त सचिव जयकुमार राउत, वल्र्डभिजन इन्टरनेसनल नेपालका फिल्ड म्यानेरज विनय अमात्य, युनिसेफका पोषण अधिकृत शेरसिंह दहित लगायतले बोल्नुभएको थियो ।

उक्त बैठकमा मन्त्रालय तथा साझेदार संस्थाहरुले यस आर्थिक वर्षमा संचालन गरिरहेका पोषण तथा खाद्य सुरक्षा सम्बन्धी क्रियाकलाहरुको प्रस्तुतिकरण समेत गरिएको थियो । साथै बैठकले समितिको बैठक प्रत्येक २ महिनामा आयोजना गर्ने, पोषण तथा खाद्य सुरक्षा सम्बन्धी मधेश प्रदेशको मार्गदर्शन तथा निर्देशिका तयार गर्ने निर्णय समेत गरेको जानकारी बहुक्षेत्रीय पोषण कार्यक्रमका मधेश प्रदेश संयोजक हेमन्त कुमार झाले जानकारी दिनुभयो ।