सुन्दरहरैंचा । मोरङको सुन्दरहरैँचा नगरपालिकाले राजश्व संकलन कार्यलाई व्यवस्थित र स्मार्ट बनाउन कोशी प्रदेशमै पहिलो पटक डाइनामिक क्यूआर कोड सेवा सुरु गरेको छ । अनलाईन पेमेन्ट, अनलाईन सिफारीस, ईसिफारीस लगायतका सेवा दिंदै आएको सुन्दरहरैंचा नगरपालिकाले प्रदेशमै पहिलोपटक डानमिक क्यू आर कोडमार्फत सबै प्रकारका करहरु बुझाउने सेवा सुरु गरेको हो । कर प्रशासनलाई सरल र सहज बनाउँदै करदातामैत्री नगर निर्माण गर्ने अभियान सुरु गरेको नगरपालिकाले डाईनमिक क्यू आर कोड मार्फत कर लिन थालेको हो । बुधबार नगर उपप्रमुख अकली कुमारी चौधरीले सो सेवाको उद्घाटन गर्नुभयो । यो सेवा सुरु भएपछि अब करदाताहरुले अनलाईन पेमेन्ट गेटवेका विधिहरु ः फोन पे, ईसेवा, खल्ती, हाम्रो पे लगायतका विविध विधीहरु प्रयोग गरी घरमै बसीबसी कर तिर्न सक्ने अबस्था बनेको छ ।

साथै नगरपालिका र सो अन्तर्गत रहेका वडाहरुबाट कर, दस्तुर, सेवाशुल्क तिर्दा वा बुझाउँदा खुल्ला पैसा बोकेर नगरपालिका आउनु पर्ने वा कर तिर्ने क्रममा पैसा नपुगेर एटीएम र बैंक धाएर पैसा लिनजानु पर्ने अबस्थाको अन्त्य भइको बताइएको छ । अनलाईनबाट नै कर बुझ्ने प्रक्रिया सुरु भई सकेकोले नगरवासी आमाबुवादाजु भाई दिदीबहिनी सबैलाई नगरपालिकाको ई सर्भिस बाट कर तिर्न प्रमुख प्रशासकीय अधिकृत अम्विका प्रसाद चौलागाईंले जानकारी दिनुभयो ।

डाईनमिक क्यू आर कोड मार्फत करअसुली गर्ने भनेको करदाताले नगरपालिकालाई तिर्नु बुझाउनु पर्ने सबै प्रकारका करहरु अनलाईन गेटवेको मार्फत तिर्नु भन्ने बुझिन्छ । नगरपालिकाले करदाता महानुभावहरुलाई यस नगरपालिका र वडा कार्यालयहरुमा रहेका राजश्वशाखाका कर्मचारीहरुसँग सम्पर्क र समन्वय गरी सहज र सरल तरीकाले डाइनामिक क्यूआर मार्फत कर, दस्तुर र सेवाशुल्क बुझाउन हुन समेत नगरवासीहरुमा अनुरोध गरेको छ । प्रविधिको जमानामा स्थानीय पालिकाले समेत आफ्ना गतिविधिहरुमा नयाँ नयाँ प्रविधि भित्र्याउनु पक्कै पनि सह्रायिन विषय हो । तर नगरवासीलाई यस्ता प्रविधि बारे पर्याप्त मात्रामा जानकारी दिएर यस्ता सेवाहरुलाई अझ प्रभावकारी बनाउन जरुरी देखिन्छ ।

