बेलबारी / मोरङको बेलबारी नगरपालिका शिक्षा,युवा तथा खेलकुद शाखाले बेलबारीमा सञ्चालन भइरहेका संस्थागत विद्यालयहरुको वर्गीकरण गरेको छ ।
 शाखाले  संस्थागत विद्यालयहरुमा गरेको मुल्यांकन अनुसार ८९.७६  प्रतिशत अंक प्राप्त गर्दै बेलबारी ११ लक्ष्मीमार्गको माउण्ट एभरेष्ट ई.स्कुल  र ८४ अंक प्राप्त गर्दै बेलबारी ३ को गुरुकुल पाठशाला (क )  श्रेणीमा सुचीकृत भएका हुन् । 
 बेलबारीमा रहेका ३६ वटा बिद्यालयहरु मध्ये २ वटा (क) मा ५ वटा (ख) मा १५ वटा   (ग) मा  र १४ वटा ( घ )  श्रेणीमा परेका बेलबारी नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख भुपेन्द्र कोईरालाले जानकारी दिनुभयो। कुल २१० पुर्णाङकमा ८० प्रतिशत बढी अंक प्राप्त गर्नेलाई (क), ६० प्रतिशत भन्दा बढी ल्याउनेलाई (ख), ४० प्रतिशत भन्दा बढी ल्याउनलेलाई (ग) र ४० भन्दा कम अंक प्राप्त गर्नेलाई (घ) श्रेणीमा राखिएको उहाँले बताएका हुन् । 
वर्गीकरणका लागि शाखाले हरेक विद्यालयलाई स्वमुल्यांकन फारम भर्न लगाए पछि  सोही प्रमाणका आधारमा शिक्षा शाखा, प्याव्सन र एनप्याब्सनका प्रतिनिधि सहितको टोलीले मुल्यांकन गरेको थियो । मुल्यांकनका लागि ५६ वटा मुल सूचकांक र ३ वटा श्रेणी तय गरि वर्गीकरण गरिएको थियो । 
संस्थागत बिद्यालयहरुले ग्रेडिङ नभई शुल्क प्रस्ताव गर्न नपाउने नियमका कारण संस्थागत बिद्यालयहरुको मापदण्ड निर्माण गरी ग्रेडिङ गरिएको हो । जसमा बिद्यालयको भौतिक तथा शैक्षिक सुविधा,फर्निचरको ब्यवस्था,शौचालयको उपलब्धता,पुस्तकालय,शुद्ध पिउनेपानीको ब्यवस्था,कक्षाकोठाको सजावट,खेलमैदानको अवस्था,शिक्षक र कक्षाको अनुपात,प्राथमिक उपचार,छात्रवृति,बिज्ञान प्रयोगशाला,कम्प्युटर शिक्षा,सभाकक्षको प्रयोग र ब्यवस्थापन,सेवा कक्षको ब्यवस्था,अतिरिक्त क्रियाकलाप कक्ष,बिद्यालय ब्यवस्थापन  समिति,शिक्षक अभिभावक संघ गठन,बैंठक,पारदर्शिता र उत्तरदायित्व,बिद्यालय हाताभित्र घेराबारा,सवारी साधनको ब्यबस्था,अध्ययायन,भ्रमण,लैगिक बिभेद तथा सामयिक शिक्षा,बालमैत्री बाताबरण,द्धन्दरहित शिक्षाको ब्यवस्था,अभिभावकहरुको संलग्नता,बिद्यालयका प्रकाशन,शैक्षिक उपलब्धिको स्तर लगायतको मुल्यांकन गरिएको थियो ।
यसैगरी, महिला शिक्षकको अनुपात,परिक्षा प्रणाली,शिक्षण सिकाई पद्धति,बिद्यालयको नाममा जग्गा,उर्तिण प्रतिशत,शैक्षिक उपलब्धि,छात्राबास तथा चमेनागृहको ब्यवस्था,बिद्यालय शिक्षक नियुक्तिमा समावेशिता,शिक्षक तालिम,समय परिपालन,कक्षागत रुपमा सेतो पाटीको ब्यवस्थापन,बालमैत्री कक्षा,अभिभावकहरुको परामर्श अभिमुखीकरण,शैक्षिक सामाग्रीको ब्यवस्था लगायत विभिन्न सुचांकहरुको आधारमा विद्यालयको श्रेणी छुटयाईएको जनाईएको छ ।