महोत्तरी / एकिकृत ग्रामिण विकास समाज महोत्तरीद्वारा वल्र्ड भिजन इन्टरनेसनल नेपालको साझेदारीमा महोत्तरी जिल्लामा सञ्चालन भइरहेको पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना अन्तर्गत स्वास्थ्य संस्थाको क्षमता सुदृढिकरणका लागि विभिन्न प्रकारका स्वास्थ्य उपकरणहरु आज वैशाख ७ गते एक कार्यक्रम बीच एकडारा गाउँपलिका लाई हस्तान्तरण गरिएको छ ।

उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्नु हुँदै स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख भोला यादवले स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन सामाग्रीहरुले अझ मद्दत गर्ने कुरा बताउनुभयो ।

“महोत्तरी जिल्लाका १५ स्थानीय तहको स्वास्थ्य सेवाको अवस्था सन्तोषजनक छैन ।” प्रमुख यादवले भन्नुभयो “यस एकडारा गाउपलिका  अन्तर्गतका स्वास्थ्य संस्थाहरुमा हस्तान्तरण गरिएका सामाग्रीहरु गर्भवती महिला तथा बालबालिकाको जीवन रक्षाका लागि सहयोगी सिद्ध हुनेछन् ।”

सुरक्षित र प्रभावकारी स्वास्थ्य सेवाका लागि एकडारा गाउँपलिका वडा नं. ३ स्थित भटोलिया स्वास्थ्य चौकी (बर्थिङ सेन्टर) लगायतका एकडारा स्वास्थ्य चौकी, हलखोरी स्वास्थ्य चौकी र बहेडा स्वास्थ्य चौकीलाई उक्त सामाग्री हस्तान्तरण गरिएको एकिकृत ग्रामिण विकास समाज, महोत्तरीका कार्यक्रम व्यवस्थाक कुमार भण्डारीले जानकारी दिनुभयो ।

342041795_1227346791509134_5137126183547163954_n

स्वास्थ्य संस्थाका लागि आवश्यक बेबी वार्मर, डेलिभरी बेड, डेलिभरी सेट, सङसन मेसिन, इन्स्ट्रुमेण्ट ट्रली, विपी सेट, ट्रलि, अटोक्लेव, पेरिलाइट, डस्टविन लगायतका करिब ४ लाख २० हजार रुपैयाँ बराबरका सामाग्रीहरु हस्तान्तरण गरिएको हो ।

उक्त हस्तान्तरण कार्यक्रममा एकडारा गाउँपलिका वडा नं. ३ का अध्यक्ष रामविलास राय, वडा नं. ४ का अध्यक्ष जिवछ यादव, स्वास्थ्य शाखा संयोजक महेन्द्र मण्डल लगायतले मन्तव्य ब्यक्त गर्नुभएको थियो ।