सुन्दरहरैँचा / मोरङका विभिन्न परीक्षा केन्द्रबाट पक्राउ परेका एसईईका नक्कली परीक्षार्थीमध्ये अधिकांशलाई जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएको छ ।
जिल्ला न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इलजासले जनही ४० हजार रूपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको हो । आदेशपछि १ सय ६० जना परीक्षार्थी धरौटीवापतको रकम बुझाएर छुटेको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।
नाबालक रहेका परीक्षार्थीलाई भने खोजेका बेला हाजिर गराउने गरी अभिभावकको जिम्मा लगाइएको छ ।
नाबालक नक्कली परीक्षार्थीको संख्या ३४ छ ।
नक्कली परीक्षार्थी परिचालन गर्ने इन्स्टिच्युटका सञ्चालक धरानका सन्तोष राईलाई १ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश भएको छ ।
राईले आफ्नो इन्स्टिच्युटमार्फत नक्कली विद्यार्थी बनाएर अर्काको नाममा एसईई परीक्षा दिलाएका थिए ।
नक्कली परीक्षार्थीलाई प्रहरीले चैत २२ र २३ गते पक्राउ गरेको थियो ।
प्रहरीले केराबारी गाउँपालिका–७ स्थित सार्वजनिक माध्यमिक विद्यालय केन्द्रबाट मात्रै १ सय २६ जना नक्कली परीक्षार्थीलाई पक्राउ गरेको थियो ।
ग्रामथान गाउँपालिका–२ झोराहाटको सरस्वती मावि केन्द्रबाट ५३ जना पक्राउ परेका थिए । उनीहरु बूढीगंगा गाउँपालिकास्थित नरग्राम माविका विद्यार्थीको नाममा परीक्षा दिइरहेका बेला पक्राउ परेका हुन् ।
सुन्दरहरैँचा नगरपालिका–१ हरैँचास्थित जनता मावि केन्द्रबाट १५ जना पक्राउ परेका थिए ।


