सुन्दरहरैंचा/ दलित वर्गका लागि एक दिवसीय सचेतना कार्यक्रम आयोजना गरिएको छ । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर–४ कार्यालयको आयोजना र हेल्पिङ्ग युथ सुनसरीको सहजीकरणमा आइतबार आयोजना गरिएको कार्यक्रममा वडावासी दलित समुदायका करिब ६० जना सहभागि भएका थिए । कार्यक्रम वडा कार्यालयको सभाहलमा राजकुमारी विश्वकर्माको अध्यक्षता तथा सुन्दरहरैंचा वडा ४ का अध्यक्ष कैलाश बस्नेत प्रमुख आथित्यतामा भएको थियो ।

सो अवसरमा सहजकर्ता एवम् अभियन्ता पेशल खतिवडाले जातीय छुवाछुत ऐन २०६८, फौजदारी र देवानी कानून, संविधानमा व्यवस्था गरिएको मौलिक हक, समानताको हक धारा–१८, छुवाछुत तथा जातीय भेदभाव विरुद्धको हक धारा–२४, दलितको हक धारा–४० का विषयमा जानकारी दिएका थिए । उनले सरकारवादी र व्यक्तिवादी मुद्दा, दलित बालबालिकालाई सरकारले दिने पोषण भत्ता, दलितहरुलाई दिइने विशेष सामाजिक सुरक्षा भत्ता, समानुपातिक निर्वाचन प्रणालीबाट चुनिने जनप्रतिनिधिकाबारे पनि सहभागिहरुलाई बताएका थिए ।

सचेतना कार्यक्रमलाई सहजीकरण गर्दै पूर्वी हटलाइन दैनिकका कार्यकारी सम्पादक राजन केडीले सूचना हक सम्बन्धी ऐन २०६४ बारे बताउदै स्थानीय तहमा दलितका लागि कति बजेट आएको छ त्यसबारे थाह पाउनु पर्ने बताएका थिए । उनले सूचना पाउनु नागरिकको हक हो भन्दै यो हकको उपयोग गर्न नागरिक सक्रिय भए सरकारी कार्यालयहरु उत्तरदायी र पारदर्शी हुने बताए ।

सो कार्यक्रममा सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ४ का वडा सचिव अनिल पोखरेलले पहिले पनि दलित समुहका लागि केहि रकम बिनियोजन गरिएपनि अपुग रहेको ले आगामी दिनमा दलित समुदायका लागि सिपमुलक कार्यक्रम संचालन गर्ने वडाको योजना रहेको पनि बताएका थिए ।
कार्यक्रममा सोही वडाका जनप्रतिनिधिहरु दुर्गा पोख्रेल, राजकुमारी विश्वकर्मा, लक्ष्मी चौधरी, गणेश गुरागाईं लगायतको उपास्थिति सम्पन्न कार्यक्रम मा मुक्ति समाजका केन्द्रीय सदस्य हर्कराज परियार, नगर अध्यक्ष मदन परियारले दलितहरु आफ्ना हक अधिकारप्रति चनाखो रहनुपर्ने बताएका थिए ।


