महोत्तरी / स्वास्थ्यकर्मीहरुका लागि स्वास्थ्य संस्था ब्यवस्थापन तथा संचालन सम्बन्धी ३ दिने प्रशिक्षक प्रशिक्षण तालिम वैशाख १६ गते बर्दिबासमा सम्पन्न भएको छ । मधेश प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश स्वास्थ्य तालिम केन्द्र, पथलैयाको आयोजनामा भएको उक्त तालिमको समापनका अवसरमा बोल्नु हुँदै स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख भोला यादवले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन तालिमले मद्दत गर्ने कुरा बताउनुभयो ।
“स्वास्थ्य सेवा प्रवाहको सूचकमा मधेश प्रदेश पछाडि परेको छ ।” प्रमुख यादवले भन्नुभयो “सेवाग्राहीलाई प्रभावकारी सेवा प्रवाह र स्वास्थ्य ब्यस्थापन समितिलाई सक्रिय बनाउन बनाउन आवश्यक छ ।” यसैगरी वल्र्ड भिजन इन्टरनेसनल नेपालका नीति तथा संचार विज्ञ प्रमिल अधिकारीले पोषणमैत्री स्थानीय तह र पोषणमैत्री स्वास्थ्य संस्था निर्माणका लागि पहल गर्नु पर्ने बताउनुभयो ।
मधेश प्रदेश तालिम केन्द्र, पथलैया, बाराको आयोजना तथा वल्र्ड भिजन इन्टरनेसनल नेपाल र साझेदार संस्थाहरु एकिकृत ग्रामिण विकास समाज महोत्तरी, राष्ट्रिय रोजगार प्रवर्धन केन्द्र सर्लाही, ग्रामिण विकास केन्द्र रौतहटको सहयोगमा सहयोगमा संचालन भएको तालिममा राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र, टेकुका वरिष्ठ प्रशिक्षक थलिन्द्र पंगेनी, प्रदेश स्वास्थ्य तालिम केन्द्र, पथलैयाका अनिल कुमार चौधरी र अनिल यादवले तालिमको सहजिकरण गर्नु भएको थियो ।

३ दिने उक्त तालिममा वल्र्ड भिजन इन्टरनेसनल र साझेदार संस्थाको परियोजना कार्यक्षेत्र महोत्तरी गाउँपालिका , सम्सी गाउँपालिका, सर्लाहीको हरिपुर्वा नगरपालिका , पर्सा गाउँपालिका र रौतहटको गरुडा नगरपालिका, माधवनारायण नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख तथा स्वास्थ्य चौकी इन्चार्ज गरी ३० जनाको सहभागिता रहेको एकिकृत ग्रामिण विकास समाज, महोत्तरीका कार्यक्रम ब्यवस्थापक कुमार भण्डारीले जानकारी दिनुभयो ।


