बिराटनगर/ कोसी प्रदेशको बिराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा शुक्रबार २०३औं अन्तर्राष्ट्रिय नर्सिङ्ग दिवस मनाइएको छ। नोबेल अस्पतालको नर्सिङ बिभागले नर्सिङ्ग दिवस बिशेष कार्यक्रम गरेको हो।

कार्यक्रममा नर्सिङ्ग दिवसको शुभकामना आदानप्रदान गरी केक काटेर उत्सव मनाइएको छ। सो अवसरमा नोबेल शिक्षण अस्पतालका प्रबन्ध निर्देशक इन्दिरा शर्माले नर्सिङ्ग दिवसको शुभकामना व्यक्त गर्दै बिरामीहरुको मन जित्ने गरी सेवा गर्न नर्सहरुलाई सुझाव दिनुभयो।

नोबेल मेडिकल कलेजका प्राचार्य प्रा.डा.रामहरी घिमिरे, निर्देशक डा.राजेश नेपाल, नायब निर्देशक डा.मुक्ति आचार्य, जेनेरल मेनेजर रुद्रप्रसाद शर्मा, नर्सिङ्ग डाइरेक्टर रामेश्वरी सिंह, नर्सिङ्ग प्रशासक कल्पना पोखरेललगायतले पनि नर्सिङ दिवसको शुभकामना व्यक्त गरेका छन्।

कार्यक्रममा नोबेलमा कार्यरत नर्स, नर्सिङ पढ्दै गरेका बिद्यार्थी, कर्मचारीलगायत सहभागि थिए। नर्सिङ्ग दिवसको अवसरमा हरेक बर्ष नोबेलमा बिभिन्न कार्यक्रम गर्ने गरिएको छ। निजी क्षेत्रबाट सञ्चालित कोसी प्रदेशको सबैभन्दा ठूलो अस्पताल नोबेलमा करिब ६सय नर्स कार्यरत छन्।