१५ चैत २०७८ मा पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगले अधिकृतदेखि कार्यालय सहायकसम्म विभिन्न ११५ पदमा आवेदन खुलायो । करारमा 'मनमोजी’ नियुक्त हुँदै आएको पूर्वाञ्चल विश्वविद्यालयमा 'सेवा आयोग’ले २२ वर्षपछाडि विज्ञापन खुलाएको थियो ।
दुई वर्षअगाडि पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष भएका महेशराज दाहालले २२ वर्षसम्म विज्ञापन नखुलाएका पदमा पदपूर्तिको प्रक्रिया अगाडि बढाएका थिए । 'म दुई वर्षअगाडि अध्यक्ष नियुक्त भएर आएको हु । त्यहाँ पुगेर जिम्मेवारी लिएपछि थाहा भयो २२ वर्ष भएको रहेछ विज्ञापन खुलाएकै रहेनछ,’ दाहालले भने, 'त्यही भएर आउनेबित्तिकै पदपूर्तिको प्रक्रिया अगाडि बढाएँ ।'
आवेदन खुलाएको करिब ६ महिनापछि पहिलो पेपरको परीक्षा भयो । तीन दिन, तीन समूह छुट्याएर २६ देखि २८ भदौ २०७९ मा पहिलो पेपरको परीक्षा सञ्चालन भएको थियो । आयोगले पहिलो पेपरको रिजल्ट २४ असोज २०७९ मा निकाल्यो । पहिलो पेपरको परीक्षाफल निकालेयता विश्वविद्यालयले सो पदपूर्तिसम्बन्धी थप कुनै सूचना जारी गर्न सकेको छैन । त्यसको कारण हो, आयोगमा लागेको तालाबन्दी ।
नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को एउटा समूहले पहिलो पेपरको परीक्षाफल आएपछि करिब ६ महिनाअगाडि विश्वविद्यालयको केन्द्रीय कार्यालयमा ताला लगायो । केन्द्रीय कार्यालयसँगै सेवा आयोगमा पनि ताला लाग्यो ।
'सेवा आयोग त प्रक्रियाअनुसार आवेदन खुलाउने संस्था न हो । यसले कानुनबमोजिम विश्वविद्यालयको मागअनुसारका कर्मचारी नियुक्ति गर्ने हो । यहाँ किन ताला लगाएको भनेर मैले त्यति बेला सोधेँ पनि,’ दाहालले भने, 'विश्वविद्यालयमा दबाब दिन भनेर त्यति बेला विद्यार्थीहरूले भनेका थिए ।’
विश्वविद्यालयको समग्र पदपूर्ति नै प्रभावित बनेपछि गत जेठ १४ मा विश्वविद्यालयभित्रै सर्वपक्षीय भेला बस्यो । सुन्दरहरैँचा नगरपालिकाभित्र पर्ने विश्वविद्यालय भएकाले स्थानीय पालिकाका प्रायः दलका प्रतिनिधि मिलेर ताला फुटाउने सहमति भयो । भेलाले माइन्युट गर्यो । भेलामा नेविसंघको देउवानिकट समूहको पनि उपस्थिति थियो । जसले ताला फुटाउने विषयमा सहमति जनाएको थियो ।
तर, कोइराला समूहको 'कोटा’बाट नेविसंघ मोरङ सभापति बनेका सरोज पोख्रेललाई भने विश्वविद्यालयको ताला खोलेको विषय निको लागेन । पोख्रेलले ताला खोल्न सहजीकरण गरेका विश्वविद्यालय रहेको मोरङ क्षेत्र नम्बर ६ का नेपाली कांग्रेसका क्षेत्रीय सभापति र सुन्दरहरैँचाका कांग्रेस सभापतिविरुद्ध नेविसंघको बैठकबाट निर्णय गराएर 'अराजक समूह’ को बिल्ला भिराइदिएका थिए । ताला फुटाएको विषयलाई पोख्रेलले आलोचना गरे । नेविसंघलाई नसोधी ताला फुटाएर आफ्नो संगठनको बेइज्जत गरेको पोख्रेलको आरोप थियो ।
यता, सभापति पोख्रेलको हर्कतविरुद्ध नेविसंघकै उपसभापति कृष्ण श्रेष्ठ उत्रिए । श्रेष्ठले प्राज्ञिक थलोलाई लामो समय तालाबन्दी गर्न नहुने भन्दै विज्ञप्ति निकालेर ताला खोलेको विषयलाई स्वागत गरे । यति गरिसक्दा श्रेष्ठ नेविसंघको उपसभापतिबाट निलम्बनमा परिसकेका थिए । संगठनविरुद्ध लागेको भन्दै सभापति पोख्रेलले श्रेष्ठलाई बर्खास्त गरिसकेका थिए ।
नेविसंघभित्रको माथापच्चीका बीच सेवा आयोगको ताला खुलेपछि आयोगले आफ्नो काम प्रक्रियाअनुसार अघि बढाइरहेको थियो । तर, काम रोक्न नेविसंघका जिल्ला सभापतिले पटक-पटक सेवा आयोगका अध्यक्ष महेशराज दाहाललाई भनिरहे । तर, दाहालले काम रोकेनन् ।
पहिलो परीक्षामा पास भएकाहरूलाई दोस्रो परीक्षा दिलाउने प्रक्रियामा दाहाल लागे । 'नेविसंघका विद्यार्थी भाइहरूले काम रोक्नू भन्दै थिए । प्रक्रियामा छिरिसक्यो । लोक सेवाको पनि प्रतिनिधिको रोहबरमा छनोट हुन्छ, अब रोकिँदैन भनेर मैले भनेको थिएँ,’ दाहालले भने ।
दाहालले काम नरोकेपछि पोख्रेल नेतृत्वको नेविसंघको एउटा घटक अध्यक्ष दाहालसँग रुष्ट बन्दै गयो । आन्दोलनको चेतावनी दिँदै गयो । तिक्तता बढ्दै गएपछि सोमबार सेवा आयोगका दाहालको इटहरी आँपगाछीनजिक रहेको क्वार्टरमा पुगेर मोसोजस्तो देखिने पदार्थ अनुहारमा पोखिदिएका छन् । नेविसंघ मोरङका सभापति सरोज पोख्रेलले आफूहरूको माग पूरा नभएपछि मसी छर्किदिएको स्वीकार गरे ।
लोकतन्त्रमा विश्वास गर्छु भन्नुहुन्छ तपाईंहरू, अनि त्यसरी दुर्व्यवहार गर्न अप्ठ्यारो लाग्दैन भन्ने प्रश्नमा पोख्रेलले निर्धक्कसाथ भने, 'हामीले ताला लगाएका छौँ । अनि हामीलाई नबोलाई ताला तोडेपछि के गर्ने त ? तपाईंले पनि यही मसी छर्किएपछि त थाहा पाउनुभयो नि यो विषय ।'


