महोत्तरी / महोत्तरीको सम्सी गाउँपालिकामा स्वास्थ्यसँग सम्बन्धित जनसरोकारका विषयहरुमा ध्यानाकर्षण गराउँदै नागरिक समूहले ज्ञापन पत्र बुझाएको छ ।
सम्सी गाउँपालिका भित्र रहेको स्वास्थ्य संस्थाको सुदृढिकरण र सेवा प्रवाहलाई चुस्त एवं प्रभावकारी बनाउनका लागि गाउँपालिकाले आगामी वर्षको योजनामा बजेट विनियोजन गरी जनतालाई प्रभावकारी स्वास्थ्य सेवाको ग्यारेण्टी गर्नुपर्ने सहित नागरिक समूहले गाउँपालिका अध्यक्ष रामनाथ यादवलाई ज्ञापन पत्र बुझाएका छ ।
सर्वसुभल र प्रभावकारी स्वास्थ्य सेवा प्रवाहका लागि गाउँपालिकाले काम गर्ने ज्ञापन पत्र बुझ्दै गाउँपालिका अध्यक्ष रायले बताए ।
सेवाग्राही र सेवाप्रदायक बीच स्वस्थ संवादका माध्यमबाट स्वास्थ्यसँग सम्बन्धित समस्या समाधानको लागि पहल गर्ने उद्देश्यले वल्र्ड भिजन इन्टरनेसनल नेपालसँगको साझेदारीमा एकिकृत ग्रामिण विकास समाज, महोत्तरीको सहजीकरणमा सम्सी गाउँपालिकामा गठन भएका पाँच वटा नागरिक आवाज र कर्तव्य समूहको सहभागितामा उक्त ज्ञापन पत्र बुझाइएको कुरा संस्थाका फिल्ड अधिकृत मनिषा दर्नालले जानकारी दिए ।
ज्ञापन पत्रमा सेवाग्राहीको लागि स्वास्थ्य संस्थामा सुरक्षित पिउने पानीको ब्यवस्थापन गर्नु पर्ने, साबुन पानीले हात धुने स्थानको व्यवस्थापन गर्नु पर्ने र स्वास्थ्य चौकीमा न्युनतम औषधिको आपूर्तिलाई सुनिश्चितता गर्नु पर्ने ,स्वास्थ्य संस्थामा महिला, पुरुष र अपांगमैत्री पानी सहितको शौचालयको ब्यवस्थापन गरिनु पर्ने, सम्सी बर्थिङ सेन्टरमा आवश्यक दक्ष जनशक्तिको अभाव भएकोले जनशक्तिको व्यवस्थापन गर्नु पर्ने, सम्सी बर्थिङ सेन्टरमा डेलिभरी कोठामा पानी सहितको शौचालयको व्यवस्थापन गर्नु पर्ने लगायतका मागहरु समेटिएको नागरिक आवाज र कर्तव्य समूह सम्सी वडा नम्बर ७ का संयोजक महेश्वर रायले बताए ।

