सुनसरी / पाँचथरको फालेलुङ गाउँपालिकाले घुमाउने टारस्थित हेवा खोलामा डाइभर्सन गरी अवरुद्व सडक खुलाउने प्रयास सुरु गरेको छ ।
गत असार ३ गते आएको बाढीले गाउँपालिका ३ र ७ लाई जोड्ने मोटरेबल पुल बगाएर पुल बगेसँगै सदरमुकाम सहित विभिन्न स्थानसँग सम्पर्क विच्छेद भएको फालेलुङलाई पुनः सडक सञ्जालसँग जोड्न आजदेखि डाइभर्सनको काम सुरु भएको हो ।डाइभर्सनका लागि ५ फुट ४ इन्च भित्री सतहका ५ थान हृयुम पाइप झिकाएर डाइभर्सनको काम थालिएको बताइएको छ ।
बाढीका कारण फालेलुङको घुमाउनेसँगै लुमाङदिनको मोटरेबल पुल पनि बगेको छ । घुमाउनेको प्रयास सफल भए लुमाङदिनमा पनि डाइभर्सन गरेर सवारी आवागमन खुलाइने गाउँपालिका अध्यक्ष वीरविक्रम थाम्सुहाङले बताए ।
बाढी पहिरोका कारण फालेलुङमा गाउँपालिकामा एक जनाको ज्यान गएको थियो भने १ सय ४१ घरका ५ सय बढी नागरिक प्रभावित भएका छन् ।


