काठमाडौ / माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)को परीक्षाफलमा अघिल्लो वर्षको तुलनामा संवत् २०७९ को परीक्षामा माथिल्लो ग्रेड (स्तरीकृत अङ्क) ल्याउने विद्यार्थीको सङ्ख्या सुधारोन्मुख रहेको पाइएको छ । प्रकाशित नतिजाअनुसार तल्लो ग्रेड ल्याउने विद्यार्थी घट्दो र माथिल्लो ग्रेड ल्याउने विद्यार्थी बढ्दो पाइएको हो।


राष्ट्रिय परीक्षा बोर्डका अनुसार जिपिए शून्य दशमलव ८० देखि १ दशमलव २० ग्रेड ल्याउने २२ हजार विद्यार्थी अर्थात् शून्य दशमलव ४५ प्रतिशत देखिएका छन्। संवत् २०७८ को परीक्षाको परीक्षाफलमा यस ग्रेडमा शून्य दशमलव ६६ प्रतिशत विद्यार्थी थिए।


जिपिए एक दशमलव २० देखि एक दशमलव ६० सम्ममा यसवर्ष ३८ हजार सात सय ७७ अर्थात् सात दशमलव ९९ प्रतिशत विद्यार्थी छन् भने गत वर्ष नौ प्रतिशत थिए।



जिपिए एक दशमलव ६० देखि दुईसम्म प्राप्त गर्ने यसवर्ष ८८ हजार चार सय ४७ अर्थात् १८ दशमलव २४ विद्यार्थी छन् भने गतवर्ष २० दशमलव ३० प्रतिशत थिए। जिपिए दुईदेखि दुई दशमलव ४० सम्म यसवर्ष एक लाख २२ हजार ९३ विद्यार्थी अर्थात् २१ दशमलव ०९ विद्यार्थी छन् भने गत वर्ष २३ प्रतिशत थिए।


जिपिए दुई दशमलव ४० देखि दुई दशमलव ८० सम्म ल्याउनेमा यसपटक ८९ हजार तीन सय ३१ अर्थात् १८ दशमलव ४२ छन् भने गतवर्ष १८ दशमलव ३१ प्रतिशत थिए । जिपिए दुई दशमलव ८० देखि ३ दशमलव २० सम्ममा ७२ हजार तीन सय ६२ अर्थात् १४ दशमलव ९२ प्रतिशत विद्यार्थी छन् भने गत वर्ष १४ दशमलव १९ प्रतिशत थिए।


जिपिए तीन दशमलव २० देखि तीन दशमलव ६० ग्रेड ल्याउने ५५ हजार ६९ अर्थात् ११ दशमलव ३६ प्रतिशत छन् भने गत वर्ष ८ दशमलव ४० प्रतिशत थिए। यस वर्षको एसईईमा ४ लाख ८४ हजार ९३९ जना परीक्षार्थी सहभागी भएका थिए ।