सुनसरी / देशकै पहिलो प्राविधिक विश्वविद्यालय मनमोहनले पाँच बर्से रणनीतिक योजना तयार गरेको छ ।
कोसी प्रदेश सरकारले चार वर्षअघि स्थापना गरेको मोरङको बूढीगङ्गा गाउँपालिका- ४ हात्तीमुढास्थित मनमोहन प्राविधिक विश्वविद्यालयले आगामी आर्थिक वर्ष २०८० देखि ०८५ सम्मका लागि आफ्नो रणनीतिक योजना तयार गरेको हो ।
मनमोहनले पाँच वर्षभित्र कुन–कुन विषयको के कसरी पठनपाठन गराउने, भौतिक पूर्वाधार अनि दक्ष जनशक्ति के कसरी र कस्तो तयार गर्ने र शिक्षक र कर्मचारीहरूलाई कुन मूल्याङ्कनको आधारमा पुरस्कृत गर्ने भन्नेबारे छलफल गरेर पाँच बर्से रणनीतिक तयार गरेको विश्वविद्यालयका उपकुलपति डा सुवासश्री पोखरेलले बताए ।
उपकुलपति पोखरेलका अनुसार रणनीति निर्माणमा विज्ञहरू हिक्मतबहादुर बस्नेत र भवानी सुवेदीले सहयोग गरेका थिए । शिक्षक र कर्मचारीहरूलाई पुरस्कृत गर्ने आधारबारे प्राध्यापक डिल्ली प्रसाईंले जानकारी गराएका थिए ।
छलफलमा पूर्वाञ्चल विश्वविद्यालयको इन्जिनियरिङ सङ्कायका डिन देविप्रसाद भट्टराई, प्राध्यापक कृष्ण पोखरेल, मदनभण्डारी स्मृति प्रतिष्ठानका अध्यक्ष गुरु बराल, उद्योगी सोमनाथ अधिकारी, उद्योग संगठन मोरङका पूर्वअध्यक्ष मुकेश उपाध्यायलगायतले आवश्यक सुझावहरू दिएका थिए ।
चालु शैक्षिक सत्रदेखि प्राकृतिक चिकित्सातर्फके स्नातक तहको कक्षा पनि सुरु गर्ने तयारी भइरहेको छ ।

