सुनसरी / इटहरी ६ मा रहेको मोडर्न प्रिपेरेटोरी सेकेण्डरी स्कूलमा हिजो बुधबार निःशुल्क आँखा जाँच तथा शिविर कार्यक्रमको आयोजना भएको छ ।
आफ्ना बिद्यार्थीहरुमा समेत आँखाको संक्रमण देखिएपछि सो विद्यालयले नेपाल नेत्र ज्योतिसंघ विराटनगर आँखा अस्पताल रानिको सहकार्यमा चार सय बढीले निशुल्क आँखा शिविर गरेका हुन् ।
इटहरी र वरिपरिका क्षेत्रमा आँखाको समस्याले प्रकोपको रुप लिंदै गएको देखेपछि हामीले हाम्रा विद्यार्थी, अभिभावकका लागि बिद्यालयमै निशुल्क आँखा शिविर आयोजना गरेको विद्यालयका सह-प्रधानाध्यापक रमेश निरौलाले बताए ।
पछिल्लो समय आँखा पाक्ने बिरामीको संख्या बढेको भन्दै विद्यार्थी, अभिभावक, शिक्षकसहित समुदायलाई निःशुल्क शिविर गरिएको विद्यालयका सह–प्रधानाध्यापक निरौलाले बताए । स्कूले विद्यार्थीमा पनि आँखा पाक्ने समस्या हुँदा अध्ययन, अध्यापनमा समस्या हुन नदिन र बेलैमा उपचार गर्न प्रेरित गर्ने उदेश्यले शिविर आयोजना गरिएको हो ।
विद्यार्थीहरूलाई दुई सय रुपैयाँसम्मको औषधि निःशुल्क उपलब्ध गराइएको छ । विराटनगर आँखा अस्पतालका आँखा स्वास्थ्य कार्यकर्ता मनिषकुमार खवासले खासगरी दूषित वातावरणका कारण पछिल्लो समय आँखाका बिरामी बढेको बताए ।
उनका अनुसार विराटनगर आँखा अस्पतालमा अन्य समयमा दैनिक एक हजारभन्दा बढी आँखाका बिरामी आउने भएपनि अहिले उक्त संख्या बढेको छ । पछिल्लो समय कोसी प्रदेशका विभिन्न जिल्लाबाट आँखाका बिरामी बढ्दो रहेको उनले बताए ।


