सुनसरी / इटहरी धरान सडक खण्डको सेउतीपुलमा गोली प्रहार गरी लुटपाट भएको घटनामा प्रहरीले हालसम्म ६ जनालाई पक्राउ गरेको छ ।
गत साउन ५ गते विराटनगर महानगरपालिका–५ का २८ वर्षीय रोहित चौधरीलाई लुटेरा समूहले गोली हानी हत्या गरेको थियो । लुटेरा समूहका दुई जनालाई बुधबार, शुक्रबार तीन जना र शनिबार एक जनालाई प्रहरीले पक्राउ गरेको हो ।
शनिबार पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–४ का २७ वर्षीय ज्याङ्लो भनिने युनेश राई रहेका छन् । उनलाई आठ राउन्ड गोलीसहित घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यसअघि शुक्रबार पक्राउ पर्नेमा विराटनगर–१५ का ४१ वर्षीय अजयकुमार शर्मा, भद्रपुर नगरपालिका–१ घर भई धरान उपमहानगरपालिका–८ मा बस्दै आएका प्रकाश लिम्बु र धरानका ३१ वर्षीय सुजन तामाङ रहेका छन् ।
त्यसअघि गिरोहका मुख्य नाइके लेटाङ नगरपालिका–१ का ३५ वर्षीय दीपक तिम्सिना र धरान–१४ का ३४ वर्षीय अनसन तामाङलाई पक्राउ गरेको थियो।
गत साउन ५ गते साँझ ५ः बजेतिर सेउती पुलनजिकको जङ्गलमा रोहित चौधरी र उनीसँगै रहेकी युवतीलाई लुटपाट गरेका थिए । घाइते भएका रोहितको सोही दिन बिपी कोइराला विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो ।


