काठमाडौं / आँखा पाक्ने रोगको सङ्क्रमण देशभर प्रकोपको रुपमा फैलिएको छ । डाक्टरका अनुसार हरेक बर्खायाममा आँखा पाक्ने समस्या देखिन्छ ।
यसपालि भने धेरै ठाउँमा प्रकोपको रुपमा नै सङ्क्रमण फैलिरहेको छ । आँखामा सङ्क्रमण हुँदा आँखा रातो हुने, चिलाउने, पोल्ने, पानी बग्ने, चिप्रा लाग्ने लगायतका लक्षण देखिन्छ।
यस्तै, बिरामीको परेला सुन्निने, आँखामा केही बिझे जस्तो महसुस हुने, उज्यालो हेर्न गाह्रो हुने, दृष्टि धमिलो हुने लगायतका समस्या पनि देखिने तिलगङ्गा अस्पतालका नेत्ररोग विशेषज्ञ डाक्टर इन्दिरा पौडेलले बताए ।
रोग फैलिएसँगै देशभरका आँखा अस्पतालमा बिरामीको भिड बढेको छ । तनहुँ, चितवन, धनुषा, सिन्धुली, नवलपरासी लगायतका केही विद्यालय बन्द भएका छन् । यता कोशी प्रदेशका विभिन्न जिल्लामा व्यक्तिलाई सङ्क्रमण भइसकेको छ ।
धेरै ठाउँमा प्रकोपको रुपमा सङ्क्रमण फैलिरहेकाले महामारी फैलिने खतरा रहेको भन्दै डाक्टरले सावधानी अपनाउन सुझाव दिएका छन् । सङ्क्रमण सरुवा रोग हो । यो रोगबाट जोगिन हातले आँखा नछुन, बारम्बार हात धुन र सङ्क्रमित बिरामीबाट टाढै रहन डाक्टरको सुझाव छ ।
डाक्टरका अनुसार सामान्यतयता यो रोग एकदेखि दुई हप्ताभित्र निको हुन्छ । तर, सावधानी नअपनाए, जथाभाबी औषधिको प्रयोग गरे दृष्टि नै गुम्ने खतरा हुन्छ । आँखामा कुनै पनि समस्या देखिए नजिकैको आँखा अस्पतालमा जँचाएर मात्र औषधि प्रयोग गर्न डाक्टरको आग्रह छ ।

