काठमाडौं / सुन तस्करी प्रकरणमा आफ्नै सरकारका मन्त्रीको राजीनामा माग्ने सत्ता साझेदार दल नेपाली कांग्रेसका सांसद सुनिल शर्मा आज पक्राउ परेका छन् ।
उनलाई नक्कली शैक्षिक प्रमाणपत्र बनाएको कसुरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बिहीबार काठमाडौंको गोल्फुटारबाट पक्राउ गरेको हो ।
भारतको एक संस्थाबाट जारी भएको भनिएको प्रविणता प्रमाणपत्र तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भेटिएपछि उनलाई अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दियो । उक्त प्रमाणपत्रका आधारमा उनले एमबीबीएस अध्ययन गरेका थिए ।
उनलाई काठमाडौँको गल्फुटारस्थित निवासबाटै पक्राउ गरेको हो । उनले केही अघि सुन तस्करी प्रकरणमा संसदमै गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशरण महतको राजीनामा माग्दै अनुसन्धान गर्नुपर्ने पनि बताएका थिए । शर्मालाई सिआइबीले पक्राउ गरेको जानकारी दिँदै कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले सरकारमाथि प्रश्न उठाएका छन्।
उनी मेडिकल कलेज सञ्चालक समेत हुन् ।


