सुनसरी । नेपालकै प्रतिष्ठित हराईजन कप बास्केटबल प्रतियोगिता हुँदै आएको धरान उपमहानगरपालिका १७ स्थित श्री माविमा रहेको हराईजन बास्केटबल कोर्टमा धरान नगरपालिकाले डोजर चलाएको छ।
धरानकै पुरानो तथा प्रतिष्ठित बास्केटबल कोर्टमा नगरप्रमुख साम्पाङको नेत्रित्वमा शनिवार साँझ डोजर चलाएका हुन ।
भूतपूर्व गोर्खा लाहुरेहरूको श्रमदानबाट २०४५ सालमा निर्माण भएको धरानकै पहिलो सामुदायिक बास्केटबल कोर्ट भत्काएर नगरप्रमुख राईले सो स्थानमा विद्यालय भवन बनाउने भन्दै डोजर चलाएको बताएका छन् ।
उक्त बास्केटबल कोर्टमा सातौँ संस्करणसम्मको हराईजनकप राष्ट्रिय बास्केटबल प्रतियोगिता सम्पन्न भैसकेको छ । यस्तै उक्त कोर्टमा बास्केटबलका विभिन्न स्थानीय तथा राष्ट्रिय प्रतियोगिता समेत सञ्चालन हुने गरेका छन् ।
धरानकै एक हजार दर्शक क्षमताको सुविधा सम्पन्न बास्केटबल कोर्ट नभत्काउन पटक पटक आग्रह गरे पनि नगरप्रमुख साम्पाङले बेवास्ता गरेको हराईजन क्लबका निवर्तमान अध्यक्ष वसन्त राईले बताए ।


