सुनसरी / : व्यावसायिक अकबरे (डल्ले) खुसार्नी खेतीबाट भोजपुरका किसानले मनग्य आम्दानी लिँदै आएका छन् । उत्पादित खुसार्नीको बाह्य जिल्लाका बजारमा समेत माग बढेपछि किसान राम्रो आम्दानी लिन स्थानीय किसानले उत्पादन गरेको खुसार्नी स्थानीय बजारसँगै धरान, इटहरी, विराटनगर, काठमाडौँलगायतका सहरमा पुग्ने गरेको छ ।


उत्पादन भएको खुसार्नी किसानको बारीबाट ठेकेदारले खरिद गरेर लैजाने गरेका छन् । खुर्सानी स्थानीय बजारमा प्रतिकेजी रु दुई सय ५० देखि रु तीन सय ५० सम्ममा बिक्री हुने गरेको किसानको भनाइ छ । यहाँका विभिन्न ठाउँमा कृषकले व्यावसायिकरूपमा अकबरे खुसार्नीको खेती गरिरहेका छन् ।


विशेष गरेर जिल्लाको पौवादुङमा गाउँपालिकाले यसको पकेट क्षेत्र निर्धारण नै गरेर कृषकलाई खेतीमा प्रोत्साहन गरेको छ । पौवादुङमाका किसानले उत्पादन भएको खुर्सानी तिवारी भञ्याङ बजार तथा अन्य जिल्लामा निर्यात गर्दै आएका छन् ।


यही क्षेत्र भएर मध्यपहाडी लोकमार्गअन्तर्गत सवारीसाधनको आवतजावत हुने भएकाले उत्पादन भएको खुर्सानी बिक्री वितरण गर्न सहज भएको पौवादुङमा २ तिवारीभञ्याङका किसान टीकाराम तिवारीले बताए । गाउँमा उत्पादन भएको खुर्सानी सङ्कलन गरेर दैनिकजसो बाहिरी जिल्लाका बजारमा पठाउँदै आएको तिवारीले जानकारी दिए ।


खुर्सानी बिक्रीबाट वार्षिक रु तीनदेखि चार लाखसम्म आम्दानी लिने गरेको किसान तिवारीले बताए । यहाँका एक किसानले सरदरमा वार्षिकरूपमा रु ५० हजारदेखि रु पाँच लाखसम्म आम्दानी लिने गरेको उनको भनाइ छ ।


तिवारीभञ्याङ क्षेत्रमा एक सय बढी घरले व्यावसायिकरूपमा खेती गर्दै आएको किसान तिवारीले जानकारी दिए। खुर्सानी खेतीका लागि गाउँपालिकाले आवश्यक सहयोग गरेकाले थप सहज भएको उनको भनाइ छ ।


“हाम्रो गाउँपालिकामा व्यावसायिक खुर्सानी खेती गर्ने किसानको सङ्ख्या धेरै नै छ”, उनले भने, “विगतमा कमै मात्रामा किसानले खेती गर्दै आएका थिए । गाउँपालिकाले खुर्सानी खेतीका लागि आवश्यक सहयोग गरेपछि प्रायः सबै किसानले खेती गरेका छन् । गाउँपालिकाको सहयोगले यसको व्यावसायिक खेतीमा लाग्न हामीलाई टेवा पुगेको छ ।”


कृषिबाट स्थानीयको आयस्तरमा सुधार ल्याउँदै गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ लगानी गरिरहेको गाउँपालिका अध्यक्ष किरण राईले बताए ।


छ वटा वडा रहेको गाउँपालिकाको भूगोललाई यसको विशेषताका आधारमा छुट्याएर माटो र हावापानी सुहाउँदो खेती लगाउनको लागि प्रोत्साहनमूलक कार्यक्रम ल्याएको गाउँपालिका अध्यक्ष राईले जानकारी दिए।


खुर्सानी खेती गाउँपालिकाको राम्रो आम्दानीको स्रोत रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए । कृषिबाट कृषकलाई आयआर्जनमा जोड्न गाउँपालिकाले आवश्यक सहयोग गर्दै आएको उनको भनाइ छ । गाउँपालिकाले भूगोलअनुसारको बालीमा जोड दिएको प्रशासकीय अधिकृत भट्टराईले बताए ।