इटहरी / विश्वेश्वरप्रसाद कोइरालाको ११० औँ जन्मजयन्तीको अवसर पारेर इटहरीमा ‘वीपी सप्ताह कार्यक्रम’ सुरु भएको छ ।
इटहरीमा शनिबार ‘कांग्रेस रन’ आयोजना गरी गर्दै वीपी सप्ताहको उद्घाटन गरिएको छ । नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर २, प्रदेशसभा (क) द्वारा आयोजित कार्यक्रमलाई कांग्रेस केन्द्रीय सदस्य तथा नेविसंघका निवर्तमान अध्यक्ष राजीव ढुंगानाले उद्घाटन गरेका हुन् ।
उनले वीपीले नेपाली राजनीति र साहित्य क्षेत्रमा पुर्याएको योगदान जीवन्त रहने बताए । वीपीको योगदान नेपाली राजनीति र साहित्यमा जीवन्त रहने बताउँदै जति व्याख्या गरेपनि अपूर्ण हुने ढु्ंगानाले बताए ।
‘कांग्रेस रनमा कूल ५८८ जना धावक सहभागी थिए । पूर्वको इटहरी, धरान, विराटनगरसहित विभिन्न स्थानका धावकहरू सहभागी थिए । ५ किलोमिटरको दौडमा पुरुषतर्फ राजन मेन्याङ्बो प्रथम, दीपेश तामाङ द्वितीय र प्रशान्त तामाङ तृतीय भए ।
यस्तै, महिलातर्फ इन्द्रकला नेङ्वाङ प्रथम, छेन्मिमाया राई द्वितीय र कल्पना राई तृतीय भए । उनीहरूलाई नगद १० हजार, आठ हजार र पाँच हजारसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर २, प्रदेशसभा (क) का सभापति सुबेक्छु देवान राईले बताए । मानसिक र शारीरिक स्वास्थ्यको जनचेतनाको लागि उक्त कार्यक्रम आयोजना गरिएको देवान राइले बताए ।

कांग्रेस प्रदेश प्रतिनिधि सुमित थापाको संयोजकत्वमा भएको कार्यक्रममा पार्टी प्रदेश सदस्य भीमबहादुर पौडेल, दामोदार दाहा, केशव भट्टराई, सुनसरी सभापति तथा इनरुवा नगरपालिकाका केदार भण्डारी, इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेल, पूर्व राज्यमन्त्री सीताराम मेहता, जनता बहुमुखी क्याम्पस इटहरीका अध्यक्ष तथा कांग्रेस इटहरीका नेता विकास केसी लगायतले आ-आफ्नो धारणा राखेका थिए ।
वीपी सप्ताह कार्यक्रमको पहिलो दिन कांग्रेस रन, भदौ १९ गते मंगलबार वीपी साहित्य सन्ध्या, २२ गते शुक्रबार वृक्षारोपण र २४ गते आइतबार वक्तित्वकला प्रतियोगिता गर्दै समापन गरिने सचिव चिन्तामणि सापकोटाले जानकारी दिए ।


