काठमाडौं / एसिया कप क्रिकेटमा भारत र पाकिस्तानबीचको खेल वर्षाले प्रभावित भएको छ । श्रीलंकाको पाल्लिकेमा भारतले टस जितेर पहिला ब्याटिङ थालेको खेलमा पानी परेपछि रोकिएको छ ।


भारतले चार ओभर २ बलमा बिना विकेट १५ रन बनाएको छ । भारतको कप्तानी रोहित शर्मा र पाकिस्तानको बाबर आजमले गरेका छन् ।


एसिया कपको आयोजक पाकिस्तान भए पनि भारत नजाने भएपछि श्रीलंकामा खेल भएको हो । भारत र पाकिस्तानको क्रिकेट खेललाई दुवै देशले ठूलो प्रतिष्ठाको विषय बनाउँदै आएका छन् ।


त्यसैले यी दुई देशबीचको खेललाई विश्वभर नै चर्चा र रुचिका साथ हेरिन्छ । पाकिस्तान एकदिवसीय विश्व वरियताको शीर्ष स्थानमा रहेको छ भने भारत तेस्रो स्थानमा छ । एसिया कपको समूह ‘ए’ मा नेपाल, भारत र पाकिस्तान छन् । समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् ।


पाकिस्तानले पहिलो खेलमा नेपाललाई हराएको थियो । भारतको यो पहिलो खेल हो । नेपाल र भारतबीचको खेल पर्सि सोमवार हुनेछ । भारतले सर्वाधिक ७ पटक एसिया कपको उपाधि जितेको छ भने पाकिस्तानले दुई पटक जितेको छ।