सुनसरी / धनकुटा नगरपालिकाले सहकारी ऐन उल्लंघन गर्ने १७ वटा सहकारी संस्थाको दर्ता खारेज गरेको छ ।


ऐनको प्रावधान कार्यान्वयन गर्न पटक–पटक ताकेता गर्दा पनि अटेर गर्ने बचत तथा ऋण, उपभोक्ता, कृषि, दुग्ध र विद्युत् सहकारीको दर्ता खारेज गरिएको हो । धनकुटा नगरपालिकाको सहकारी ऐनमा प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले तीन महिनाभित्र लेखापरीक्षण गराउनु पर्ने, छ महिनाभित्र संस्थाको साधारण सभा बोलाउनु पर्ने र यसको विवरण नगरपालिकामा बुझाउनु पर्ने प्रावधान छ ।


योे प्रावधान विपरीत चार वर्षभन्दा अघिदेखि लेखापरीक्षण र साधारण सभा नगरेका र कार्यालयमा विवरण नबुझाउने सहकारी संस्थाहरूको दर्ता खारेज गरिएको नगरपालिकाले जनाएको छ । नौ वटा कृषि सहकारी, तीन वटा बचत तथा ऋण सहकारी, तीन वटा उपभोक्ता सहकारी तथा एक/एक वटा दुग्ध र विद्युत् सहकारी खारेजीमा परेका छन् ।


ऐनको व्यवस्था अन्तर्गत नचल्ने सहकारीहरूबाट आम मानिसहरू ठगिन वा समस्यामा पर्न सक्ने भएकाले दर्ता खारेज गर्नु परेको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले बताए ।


धनकुटा नगरपालिका–१ को जनकल्याण बचत तथा ऋण सहकारी, जनसहारा उपभोक्ता सहकारी र मकालु चिया तथा कफी उत्पादन साना किसान सहकारी संस्था खारेज भएका छन् ।


नियमानुसार नगरपालिकामा विवरण नबुझाएपछि त्यस्ता सहकारीलाई सम्पर्कमा आउन पटक–पटक सूचना जारी गरिएको थियो । अन्तिम पटक गएको साउन ३० गते २१ वटा सहकारीलाई सम्पर्कमा आउन १५ दिनको म्याद दिइएको थियो ।