सुनसरी / इँटा उद्योगीहरूले सरकारसँग सहुलियतको माग गरेका छन् । आर्थिक मन्दीको असर इँटा उद्योगमा समेत नराम्ररी परेको भन्दै उनीहरूले सङ्घीय तथा प्रदेश सरकारले औद्योगिक विकासका लागि महत्त्वपूर्ण भूमिका रहेको इँटा उद्योगलाई नहेरेको गुनासो गरेका छन् ।
सुनसरीको इटहरीमा शनिबार भएको नेपाल इँटा उद्योग महासङ्घ कोशी प्रदेश समितिको प्रथम साधारण सभामा बोल्दै उद्योगीहरूले पेट्रोलियम पदार्थमा भएको भारी मूल्यवृद्धि र बैङ्कको चर्को ब्याजदरका कारण व्यवसायी पलायन हुनुपर्ने अवस्था आएको बताए ।
सरकारले कोइला आयात र विद्युतमा सहुलियत नदिनु तथा बिमा कम्पनीको सिन्डिकेटको कारण इँटा व्यवसायी मारमा परेको उनीहरूको गुनासो छ । आर्थिक मन्दीको असरले उद्योगीहरूमा उत्साह हराएको र विगतको तुलनामा ६० प्रतिशत उद्योग बन्दको अवस्थामा रहेको सङ्घका केन्द्रीय अध्यक्ष शङ्कर बहादुर चन्दले बताए ।
बैङ्कको चर्को ब्याजदर र पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण व्यवसाय छोड्नुपर्ने अवस्था आएको इँटा उद्योगीले सरकारी सहुलियत पाउनुपर्ने माग गरेका छन् । अहिले इँटा उद्योगमा प्रयोग हुने कोइला भारत, इण्डोनेशिया तथा अमेरिकाबाट आयात हुने गरेको भए पनि गुणस्तरीय कोइला आउन नसक्दा एकातिर प्रदूषणको मात्रा बढिरहेको र अर्कोतिर व्यवसायीले महँगो कोइला खरिद गर्नुपर्ने अवस्था रहेको उनीहरूको भनाई छ ।
देशभरमा २ हजार इँटा उद्योग रहेको र जसोतसो सञ्चालित ती उद्योगहरूले आफ्नो कुल उत्पादन क्षमताको मुस्किलले ४० प्रतिशत मात्र उत्पादन गरिरहेको चन्दको भनाई छ ।

