सप्तरीः सप्तरीको बोदे बर्साइन नगरपालिकाका प्रमुख आतेशकुमार सिंह निलम्बनमा परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा आरोप पत्र दायर गरेपछि बोदे बर्साइन नगरपालिकाका नगर प्रमुख सिंह निलम्बनमा परेका हुन् ।
सञ्चालन नै नभएको कार्यक्रमको स्थलगत अनुगमन गरेर योजनाको स्थिति पनि राम्रो रहेको भन्दै सोहीबमोजिम गलत प्रतिवेदन दिएर भ्रष्टाचार गरेकोले नगर प्रमुखसहित ८ जनाविरुद्ध मुद्दा चलेको छ ।
आर्थिक वर्ष २०७७/०७८ को प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत बाख्रा व्यवसायी पकेट कार्यक्रम नै नगरी सम्पन्न भएको भनी १४ लाख ७१ हजार ९ सय २१ रुपैयाँ भुक्तानी लिए दिएको कसुर गरेको पुष्टि भएकोले आरोप पत्र दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । बोदेबर्साइन नगरपालिकाले बाख्रा व्यवसायी पकेट कार्यक्रमका लागि वडा नम्बर ६ फुलकाहीको माँ जगदम्बा कृषक समूहसँग सम्झौता गरेको थियो । तर नक्कली बिल भर्पाई र झुटा बिल बनाएर १४ लाख ७१ हजार ९ सय २१ रुपैयाँ नगरपालिकाले भुक्तानी गरेको अख्तियारको दाबी छ ।
विशेष अदालतमा नगर प्रमुख सिंह सहित निमित्त प्रमुख प्रशासकीय अधिकृत घनश्याम यादव, पशु विकास अधिकृत अर्जुनप्रसाद यादव, लेखापाल सरोजकुमार मण्डल, वडा नम्बर ४ का तत्कालीन वडाध्यक्ष रामानन्द चौधरी, तत्कालीन नगर कार्यपालिका सदस्य श्रीप्रसाद भगत, जगदम्बा कृषक समूहका अध्यक्ष राधेश्याम कुमार साह र कोषाध्यक्ष निलमकुमारी शर्माविरुद्ध कैद र बिगो बमोजिम जरिवानासमेतको सजायको मागदाबी लिँदै अख्तियारले विशेष अदालतमा आरोप पत्र दायर गरेको अख्तियारका प्रवक्ता भोला दाहालले बताए।

