काठमाडौं / कक्षाकोठामा विद्यार्थीहरूमाझ हुनुपर्ने शिक्षक-शिक्षिकाहरू सडकमा उत्रिएका छन् । माइतीघर-वानेश्वर सडक ढपक्कै ढाकेर उनीहरुले गरेको विरोध प्रदर्शनले काठमाडौंको ट्राफिक अस्तव्यस्त बनिरहेको छ ।


संसदमा प्रस्तावित विद्यालय शिक्षा विधेयकको विरोधमा देशभरका शिक्षक आन्दोलित बनेका हुन् । विभिन्न जिल्लाबाट शिक्षक-शिक्षिका गाडी रिजर्भ गरेर आन्दोलनका लागि काठमाडौं आएका छन् । सामुदायिक विद्यालयहरुको छाता संगठन नेपाल शिक्षक महासंघको आह्वानमा यो आन्दोलन सुरू भएको हो । महासंघले देशभरका सबै सामुदायिक विद्यालयहरु बन्द गराएको छ ।


विधेयकमा विभिन्न १८ बुँदे असहमति राख्दै शिक्षकहरु आन्दोलित भएका हुन् । राहत, करार, बालविकास, स्थायीलगायत शिक्षक कर्मचारी आन्दोलन सहभागी छन् । सरुवा, बढुवा, दरबन्दी लगायतका मुद्दा उठाएका उनीहरुले स्थानीय तह मातहत नबस्ने बताएका छन् ।


शिक्षकहरूको आन्दोलनको कारण देशभरका झण्डै ३० हजार विद्यालय बन्द हुनुका साथै ७० लाख जति विद्यार्थी पढ्नबाट वञ्चित हुनेछन् ।