धरानः धरान बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका १ सय ७७ जना चिकित्सकले स्वास्थ्य मन्त्रीलाई सामूहिक राजिनामा बुझाएका छन् ।
नन मेडिकल कर्मचारीको १५ वर्षदेखि र चिकित्सकहरुको करिब ७ वर्षदेखि बढुवा रोकिएको भन्दै आन्दोलनरत चिकित्सकहरुले बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई मन्त्रालयमै भेटेर सामूहिक राजीनामापत्र बुझाएका छन् । चिकित्सकहरुले स्वास्थ्यमन्त्री बस्नेतलाई भेटी प्रतिष्ठानको अवस्था र चिकित्सक शिक्षकको बढुवा रोकिएको गुनासोसहित मंगलबार ज्ञापनपत्र बुझाएका थिए । चिकित्सकहरूको समस्याबारे जिम्मेवार नदेखिएकाले राजिनामा बुझाएको डा. मधुर बस्नेतले जानकारी दिए ।
प्रतिष्ठानमा चिकित्सकको धेरै दरबन्दी खाली भएर पनि विगत सात वर्षदेखि बढुवा प्रक्रिया अवरुद्ध भएको र दुई वर्षयतामात्र ५० भन्दा बढी दक्ष चिकित्सकहरुले प्रतिष्ठान छाडेको, विभिन्न विभागमा प्रोफेसर तहका चिकित्सक अभाव भएर प्रतिष्ठानको पठनपाठनमा असर परेको डा. मधुर बस्नेतले बताए ।


