महोत्तरी /  खाद्य सुरक्षाका दृष्टिकोणले उर्वर भूमि भए पनि कुपोषणको उच्च अवस्था रहेको मधेश प्रदेशमा परिणाम आउने गरी सबै सरकारी एवं गैरसरकारी पक्षले एकजुट भएर काम गर्नु पर्ने कुरा मधेश प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष माननीय नाथु प्रसाद चौधरीले बताउनु भएको छ ।

विश्व खाद्य दिवसका अवसरमा आज असोज २९ गते मधेश प्रदेश भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कृषि विकास निर्देशनालयले नक्टाझिजमा आयोजना गरेको मधेश प्रदेशमा पोषण तथा खाद्य सुरक्षाको अवस्था विषयक नीति बहस कार्यक्रममा बोल्नु हुँदै उपाध्यक्ष चौधरीले उक्त कुरा बताउनुभएको हो ।

“पुड्कोपन, ख्याउटे र कम तौल भएका बालबालिकाको संख्या अरु प्रदेशको तुलनामा मधेश प्रदेशमा धेरै छ ।” उपाध्यक्ष चौधरीले भन्नुभयो “खानाको सही प्रयोग, पोषणको बारेमा सचेतना, स्वास्थ्य र सरसफाईका ब्यवहारमा सकारात्मक परिवर्तन आवश्यक छ ।”

received_1339705389983518

जीवन र खाद्यको आधार हो पानी भन्ने मुल नाराका साथ आयोजित उक्त कार्यक्रममा बोल्नु हुँदै कृषि विकास निर्देशनालयका निर्देशक कमलदेव कुशवाहले जमिनको सदुपयोग, उत्पादनमा वृद्धि र जलवायु अनुकुलन कृषि प्रणालीलाई जोड दिनु पर्ने बताउनुभयो ।

यसैगरी भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका महाशाखा प्रमुख रोशन कुमार मेहताले मधेश प्रदेशको वर्तमान अवस्थालाई विश्लषण गर्दा पोषण र खाद्य सुरक्षाको क्षेत्रमा विकासका साझेदारहरुले लगानी बढाउनु पर्ने आवश्यकता औंल्याउनुभयो ।

सोही अवसरमा मधेश प्रदेशमा पोषण र खाद्य सुरक्षाका क्षेत्रमा संस्थाले संचालन गरिरहेको विभिन्न क्रियाकलाप बारे वल्र्ड भिजन इन्टरनेसनल नेपालका स्वास्थ्य तथा पोषण विभाग प्रमुख गणेश पाण्डेले प्रकाश पार्नुभएको थियो भने वल्र्ड भिजनले कुपोषण विरुद्ध “इनफ” अभियान संचालन गर्ने जानकारी संस्थाका पैरवी तथा अभियान प्रवन्धक श्याम अधिकारीले जानकारी दिनुभयो । कार्यक्रमका प्रमुख अतिथि नीति तथा योजना आयोगका उपाध्यक्ष चौधरी, कार्यक्रमका सभापति कृषि विकास निर्देशक कुशवाह लगायत उपस्थित सबैले हस्ताक्षर गरी उक्त अभियानका ऐक्यवद्धता प्रकट गरेका थिए ।

received_169581786206996

सो अवसरमा उपस्थित बालबालिकाहरुले जोखिममा परेका तथा विपन्न परिवारहरुमा खाद्य सुरक्षा र पोषणको समस्या बढी हुने भएकोले उनीहरुको खाद्यसुरक्षा सुनिश्चित गर्न विशेष कार्यक्रमहरु सञ्चालन गर्न तथा मातृ मृत्युदर र बाल मृत्युदर हटाउने अभियानलाई प्रभावकारी बनाउन उपस्थित बालबालिकाहरुले अपिल समेत प्रमुख अतिथि लगायतलाई हस्तान्तरण गरेका थिए ।

विश्व खाद्य दिवसको अवसरमा भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कृषि विकास निर्देशनालयको आयोजना एवं एकिकृत ग्रामिण विकास समाज, महोत्तरी, वल्र्ड भिजन इन्टरनेनसल नेपाल र खाद्य तथा कृषि संगठनको समन्वयमा आयोजित उक्त कार्यक्रममा मधेश प्रदेशमा कार्यरत संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरु, अन्तराष्ट्रिय गैरसरकारी संस्था, गैरसरकारी संस्थाका प्रतिनिधि, नागरिक समाज, अधिकारकर्मी, पत्रकार, बालबालिका लगायतको सहभागिता रहेको कुरा एकिकृत ग्रामिण विकास समाजका कार्यक्रम ब्यवस्थापक कुमार भण्डारीले जानकारी दिनुभयो ।