सुनसरी / स्थानीय नागरिकलाई कानुनी विषयमा जानकारी दिन भोजपुरको पौवादुङमा गाउँपालिकामा कानुनी घुम्ति शिविर सञ्चालन गरिएको छ ।
ग्रामिण भेगका विपन्न, गरिव, सिमान्तकृत, अल्पसङख्यक नागरिकहरुमा न्यायको पहुँच विस्तार गर्न शिविर सञ्चालन गरिएको हो । शिविरमार्फत राज्यका तर्फबाट पाउने निःशुल्क कानुनी सेवा तथा कानुनको अज्ञानताका कारण आइपर्ने समस्याका विषयमा जनस्तरसम्म जानकारी दिएको हो ।
कानुनी सेवालाई सहज रुपमा ग्रामिण भेगसम्म पुर्याउने लक्ष्यले घुम्ति शिविर सञ्चालन गरिएको गरिवी निवारण तथा ग्रामिण विकास कार्यक्रम (पर्डेप) नेपाल धनकुटाका परियोजना संयोजक खिन्द्र अधिकारीले जानकारी दिए । परियोजना अन्तर्गत भोजपुरको पौवादुङमा गाउँपालिका र धनकुटाको शहिदभूमि गाउँपालिकामा कार्यक्रम सञ्चालन भईरहेको छ ।
गाउँपालिकाका सवै छ वडामा रहेका स्थानीयहरुको कानुनी समस्या पहिचान गरेर शिविर सञ्चालन भईरहेको पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईले बताए । स्थानीयमा कानुनी जटिल्ताका कारण देखिएका विभिन्न समस्याको समाधनमा विभिन्न निकायसँग समन्वय तथा सहकार्य गरिरहेको उनको भनाइ छ।
कानुनी घुम्ती शिविरलाई वडास्तर तथा टोलस्तरसम्म सञ्चालन गर्दा ८८ ओटा समस्या पहिचान भएको पौवादुङमा गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक ज्योत्सना राईले बताईन । फेला परेका ८८ ओटा समस्या मध्ये ११ ओटाको फछ्र्यौट गरिएको उहाँको भनाइ छ ।
स्थानीयस्तरमा बढी मात्रामा पञ्जिकरण सम्वन्धि समस्या देखिएको अधिवक्ता तथा नेपाल बार यसोनियसन भोजपुरका सचिव तिर्थकुमार राईले बताए । स्थानीयहरुमा कानुनको अज्ञानताको कारण आईपरेका समस्याको समाधानको विषयमा शिविरमार्फत पहल गरिएको उनको भनाइ छ ।
गाउँपालिकाबासी नागरिकलाई न्यायमा पहुँच विस्तार गर्न कानुनी घुम्ति शिविरमार्फत सेवा दिइएको पौवादुङमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले बताए । कानुनी परामर्शपछि जिल्लामा गएर मुद्धा दर्ता तथा अन्य आवश्यक कामसँगै आवत जावतको लागि खर्चसमेत दिइने उनको भनाइ छ ।
कानुनको विषयमा सामन्य जानकारी नहुँदा आईपर्ने समस्याको पहिचानसँगै आवश्यक सहयोग गर्दै आएको पर्डेप नेपालका कार्यकारी निर्देशक मिनप्रसाद सुवेदीले जानकारी दिए । यो कार्यक्रममार्फत कानुनी सेवा लिनको लागि आवश्यक सहयोग गरिएको उनको भनाइ छ ।
यो कार्यक्रम भोजपुर र धनकुटाका दुई ओटा स्थानीय तहमा युएनडिपीको आर्थिक सहयोग र कानुन तथा संसदिय मन्त्रालयसँगको सहकार्यमा सञ्चालन भईरहेको परियोजना सञ्चालक संस्था पर्डेप नेपालले जनाएको छ ।


