इटहरी / अघिल्ला शनिबार जस्तै गत शनिबार इटहरी तालतलैयामा थुप्रै समूह बनभोजमा रमाई रहेका थिए । तर एउटा समूहले बनभोजमै रक्तदान गरिरहेको थियो । १८ औं वार्षिक साधारणसभा र रक्तदान, वनभोज कार्यक्रम लेखिएको ब्यानर मुनि मानिसहरु रगत दान गर्न लामवद्ध थिए । कार्यक्रम शहिद टोल बिकास संस्था इटहरी ८ द्वारा गरिएको थियो ।

कार्यक्रममा भानुभक्त कटवालको अध्यक्षता तथा जेष्ठ नागरिक सम्सेर बहादुर खड्का प्रमुख अतिथि रहेको कार्यक्रममा सल्लाहकार संयोजक रेवती प्रसाद घिमिरे, लेखा समिति संयोजक रोहिणी प्रसाद आचार्य लगायत विशेष अतिथिको रुपमा सहभागी थिए ।

‘बनभोज कार्यक्रममा विशेषत रमाइलोमै केन्द्रीत हुन्छ । तर हामीले रमाइलो गर्दै पुन्य काम पनि गरौँ भनेर यो कार्यक्रम गरेका हौँ,’ सस्थाका अध्यक्ष भानुभक्त कटवालले भने ।

बनभोज भन्ने वित्तिकै मादक पदार्थको कुरा अघि आउने भन्दै हामीले मादकपदार्थको प्रयोग नगरीकनै बनभोज गर्ने र त्यसमै पुन्य कमाउन समेत सकिन्छ भनेरै यस्तो कार्यक्रम आयोजना गरिएको संस्थाका सचिब देवराज अधिकारीले बताए । रक्तदान कार्यक्रमका लागि रेडक्रस सोसाइटी सुनसरीको प्राबिधिक सहयोग रहेको थियो ।



