धनगढी । गत ६ चैत मंगलबारका दिन धनगढी उपमहानगरपालिका वडा नम्बर ५, मट्यारीका २८ वर्षीय गणेश राना अरु सेवाग्राहीहरूसँगै करिब साढे १० बजेतिर कार्यालय परिसरभित्र छिरे । केही बेर पछि उनले अचानक उपमहानगरपालिका कार्यालय भवनभित्रै आफै विष सेवन गरे । गणेशले तरकारी हाल्ने ‘डेल्फिन’ नामक विषादी सेवन गरेका थिए ।

के हो घटनाको शृंखला ?

विष सेवन गरेका गणेशलाई तत्काल धनगढी नगर प्रहरीले उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल पुर्याए । घटनापछि केही जग्गा कारोबारीहरूले “सादा पोसाकमा गएको धनगढी नगर प्रहरीको एक टोलीले गणेशलाई घरबाट ल्याएर विष सेवन गराएको आरोप” लगाए । विष सेवनकर्ता गणेश पनि जग्गा कारोबारी हुन् । त्यस्तो आरोप लगाउनेमा कैलाली जग्गा तथा आवास विकास संघका अध्यक्ष उपेन्द्र अवस्थी र जग्गा कारोबारी प्रभातकुमार चौधरी रहेका छन् ।

जग्गा कारोबारी अवस्थी र चौधरीले सार्वजनिक रुपमा “उपमहानगरपालिका नगर प्रमुख गोपाल हमालको निर्देशनमा गणेशलाई सादा पोसाकमा गएका नगर प्रहरीले घरबाट ल्याएर विष सेवन गर्न लगाएको आरोप लगाएका थिए । तर, उपमहानगरपालिकाको सिसिटिभी फुटेजमा गणेश आफ्नो मोटरसाइकलमा आएको देखिएको छ । उनी चैत ४ गते आइतबार जग्गा कारोबारीहरूले गरेको नगरपालिका घेराउ र तालाबन्दीमा पनि सक्रिय थिए ।

घटनाको खोजबिन र सिसिटिभी फुटेजको आधारमा जग्गा कारोबारी अवस्थी र चौधरीको आरोप गलत सावित भएको छ । सिसिटिभी फुटेजमा गणेश स्वयंले नै उपमहानगरपालिका भवनमा विष सेवन गरेको देखिन्छ ।

विष सेवन गरेको दिन उपमहानगरपालिका नजिकै रहेको प्रदेश प्रमुखको निवासमा पश्चिमको सिसिटिभी क्यामेरामा गणेश कालो र रातो धर्का भएको पल्सर बाइकमा चढेर देव तालिम केन्द्र जाने सडक हुँदै उपमहानगरपालिका आएको देखिन्छ । उपमहानगरपालिकाको पूर्वतर्फको पार्किङमा मोटरसाइकल राखेर, कालो चस्मा, क्याप टोपी, कालो पाइन्ट र कालो विन्डचिटर लगाएर उनी भित्र आइरहेको सिसिटिभी फुटेजमा देखिन्छ ।

सिसिटिभी फुटेजमा गणेश उपमहानगरपालिका परिसरभित्र आइरहेको समयमा उपमहानगरको एम्बुलेन्स बाहिर गएको देखिन्छ । धनगढी उपमहानगरपालिकाले गणेशलाई नगर प्रहरीले घरबाट ल्याएको दाबी गलत भएको जनाएको छ । धनगढी नगर प्रहरी बल प्रमुख भूपेन्द्र खड्काले नगर प्रहरी गणेशलाई पक्राउ गर्न नगएको र पक्राउ गर्ने अधिकार आफूहरूलाई नभएको बताए ।

उनले भने– नगर प्रहरीले कुनै पनि मान्छेलाई समात्ने अधिकार नै छैन । हामीले कसैलाई समातेका पनि छैनौ । उनले थपे– गणेश अहिले अस्पतालमा हुनुहुन्छ, उहाँ आफैं मोटरसाइकलमा आउनु भएको हो ।

सो घटना’bout जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता डीएसपी कुलदीप चन्दले धनगढी नगर प्रहरीले रेस्क्यु गरेर अस्पताल ल्याएको बुझिएको र अन्य कुरा केही थाहा नभएको बताए । उनले त्यस’bout घरपरिवार तथा अन्यबाट प्रहरी कार्यालयमा केही जानकारी नआएको जानकारी दिए ।

गणेशको हाल सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको र एक दुई दिनमा डिस्चार्ज गरिने उपचारमा संलग्न चिकित्सकले बताए ।

के हो घटनाको शृंखला ?

गत ४ चैतमा धनगढी नगर प्रमुख हमालको फोनको ह्वाटसएपमा धम्कीपूर्ण म्यासेज आयो । हमालले ह्वाटसएप नम्बरमा धम्कीपूर्ण म्यासेज आएपछि कलब्याक गर्दा उताबाट पुनः धम्कीपूर्ण भाषा प्रयोग भयो ।

नगर प्रमुख हमालले सो नम्बर उल्लेख गर्दै चैत ५ गते सोमबार जिल्ला प्रशासन कार्यालय कैलालीमा उजुरी दिए । त्यसको अघिल्लो दिन (चैत ४ गते आइतबार) धनगढीका जग्गा कारोबारीहरूले उपमहानगरको गेटमा तालाबन्दीसहित नाराबाजी गरेका थिए ।

धनगढी उपमहानगरपालिकाले २०८० सालको मंसिरमा जग्गा प्लटीङ सम्बन्धि मापदण्ड, २०८० जारी गरेपछि जग्गा कारोबारीहरू आन्दोलित भएका हुन । उपमहानगरले जग्गा प्लटिङ गर्नेले प्लटिङ गरिएको सडकमा ग्राभेल हाल्नुपर्ने, विद्युतका पोल हाल्नुपर्ने, नालीहरू निर्माण गर्नुपर्ने र कम्तीमा पनि १० मिटरको बाटो बनाउन पर्ने लगायतका प्रावधान राखेको छ ।

त्यो मापदण्ड आएपछि जग्गा कारोबारीहरूले उक्त मापदण्ड रोक्नका लागि सर्वोच्चमा रीट हाले, तर सर्वाच्चले उनीहरूलाई अन्तरिम आदेश दिएन । अहिले सो रिटको सुनवाई २०८१ को भदौमा सरेको छ । सवोच्चको रीट सरेपछि जग्गा कारोबारी धनगढी उपमहानगरकाविरुद्ध आन्दोलनमा छन् ।

राजधानी दैनिक बाट