सुनसरी । सुनसरीको गढी गाउँपालिका वडा नं.६ सत्तेरझोरामा ३ महिने सिलाई कटिङ्ग सम्बन्धी सिपमुलक तालिम सँचालन गरी सहभागीहरुलाई सिलाई कटिङ्ग मेसिन वितरण गरीएको छ ।

गत पौष १९ गते देखी तालिम सँचालन हुँदै आएकोमा कार्यक्रम गढी गाउँपालिकाका उपाध्यक्ष अनिता कुमारी शाहको प्रमुख आतिथ्यता तथा पालिकाका प्रमुख प्रशासकिय अधिकृत दिल बहादुर खड्काको बिशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो । तालिममा सहभागी १९ जना मध्य १३ जना लाई ३५ प्रतिशतको व्यक्तिगत लगानी र बाँकी ६५ प्रतिशत गढी गाउँपालिका को आर्थिक सहयोगमा सिलाई कटिङ्ग मेसिन वितरण गरीएको गाउँपालिकाका उद्यम शाखा प्रमुख बैजनाथ चौधरीले बताए ।

“आर्थिक समृद्धिको आधार , उद्यम र उद्यमशिलता विकास मार्फत रोजगार” भन्ने मुल नाराका साथ गढी गाउँपालिका वडा नं.६ मा पालिका र वडाको सँयुक्त सहयोगमा महिलाहरुलाई सिलाई कटिङ्ग सम्बन्धी तालिम प्रदान गरी आत्मनिर्भर बनाउने उद्देश्य रहेको प्रमुख प्रशासकिय अधिकृत खड्काले बताए । यस भन्दा अगाडी इम्बोड्रि सम्बन्धी तालिम सँचालन भई अधिकांश तालिमा सहभागी महिलाहरु आत्म निर्भर भईसकेको समेत जानकारी गराए ।

यसैगरी अगामी दिनहरुमा पनी गरीब तथा विपन्न महिलाहरुलाई आत्मनिर्भर सँगै उद्यमी बनाउनका निम्ती गढी गाउँपालिका सधैंव उत्प्रेरीत रहने पालिकाका उपाध्यक्ष अनिता कुमारी शाहले बताईन् । 

यसैगरी वडा नं.६ का कार्यवाहक वडा अध्यक्ष योगनारायण चौधरीका अनुसार पालिका र वडाको न्युन बजेटका कारण पहिलो चरणमा १९ जनालाई मात्र तालिममा सहभागीता गराईएको जानकारी गराउँदै अगामी दिनमा उद्यम विकास तथा शिपमुलक तालिमहरुमा केही थप बजेट विनियोजित गरी बाँकी रहेका विपन्न वर्गका महिलाहरुलाई पनि तालिममा सहभागीता गराउँने बताए ।