सुनसरी | सुनसरी र मोरंङका केही भागमा आँखै पोल्ने गरी धुँवा फैलिएको छ । मध्यरातीदेखि धुँवा र तुवाँलो फैलिएपछि चिसोसमेत बढेको छ ।
पुर्वमा सुन्दरहरैंचा र पश्चिममा रामधुनी नगर क्षेत्रभरी धुँवा फैलिएको छ । इटहरी–धरान सडकखण्डमा रहेको चारकोसे झाडीमा मध्यरातिदेखि डढेलो लागेका कारण त्यहीँबाट फैलिएको धुवाँले समग्र इटहरी क्षेत्रसहित रामधुनीको केही भागमासमेत समस्या भइरहेको छ ।
यस क्षेत्रमा धरान हुँदै पहाडी जिल्ला जाने सयौँ यात्रुहरू आवतजावत गर्छन् । तर, जताततै धुवाँ फैलिएका कारण बाटो हिँड्ने यात्रुहरूलाईसमेत समस्या भइरहेको छ ।
मध्यरातिदेखि डढेलो लागेका कारण त्यहीँबाट फैलिएको धुवाँले समग्र इटहरी क्षेत्रसहित रामधुनीको केही भागमासमेत समस्या भएको स्थानीय राजु बस्नेतले जानकारी दिए ।
"जंगलमा आगो लाग्यो कि , सेउतीमा फोहोर डडाएको धुवा हो गाउँमा आएर श्वास फेर्नै गार्हो भयो ! रोगी र जेष्ठ नागरीकलाई समेत समस्या भएको उनको भनाइ छ ।"उनले तत्काल आगो निभाउनका निम्ति नियामक निकायले चासो दिनुपर्ने बताए ।
इटहरी उपमहानगरपालिकाका वातावरण अधिकृत पुष्पनारायण चौधरीले यसबारे आफूले बुझ्ने र डढेलो लागेको भए वन कार्यालयसँग समन्वय गर्ने बताए । बराहक्षेत्रको जंगल क्षेत्रमा डढेलो लागेको र त्यसबाट धुवाँ फैलिएको उनले बताए ।
उनले अहिले पनि धरान उपमहानगर र वन कार्यालयसँग समन्वय गर्ने बताए । आवश्यक परेको अवस्थामा दमकलबाट पानी लगाएर आगो निभाउने उनको भनाइ छ ।
खासगरी घाँस नपलाउँदा घाँसका लागि डढेलो लगाउने गर्दासमेत डढेलो लाग्ने जानकारहरू बताउँछन् कतिपयले आफैँ जानाजान आगो लगाउने, कतिपयले धुम्रपान सेवन गरेर जंगलमा फाल्दासमेत आगलागी र डढेलो लाग्ने बताइन्छ ।
जंगलमा लागेको डढेलो निभाउदा केही हदसम्म सहज हुने इटहरीबासीको भनाइ छ ।


