भोजपुर / कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकी राज्यमन्त्री सिर्जना राईले बसाइसराइ नियन्त्रणका लागि कृषिमा लगानी बढाउन आवश्यक रहेको बताएकी छन् ।

आइतबार भोजपुरमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको कार्यालय उद्घाटन गर्दै राईले सरकारले कृषि क्षेत्रमा थप लगानी गरेर रोजगार सिर्जना गर्न काम गर्नुपर्ने बताइन् ।

उनले भनिन्, ‘गाउँमा युवालाई रोजगार दिन, व्यवसाय वृद्धि गर्न, बसाइसराइ नियन्त्रण गर्नका लागि कृषिमा लगानी आवश्यक रहेको छ । यसका लागी प्रदेश सरकार योजना नै बनाएर लागि परिरहेको छ । कृषिमा लगानी गरेर बसाइसराइ रोक्न सरकारले योजना बनाएर काम सुरु गरेको छ ।’

यस्तै राईले प्रदेशमा कृषि विकासको प्रचुर सम्भावना रहे पनि परम्परागत प्रणाली यसको बाधक भएको बताउँदै प्रविधिमैत्री कृषि प्रणालीको थालनी गर्नुपर्ने बताइन् ।

राईले जिल्लालाई पशुपन्छी तथा दुग्ध उत्पादनमा आत्मनिर्भर बनाउने योजना अनुसार कार्यालय स्थापना गरेको बताइन् ।

‘कृषि क्षेत्र अहिलेसम्म पूर्ण व्यावसायिक हुन सकेको छैन। निर्वाहमुखी कृषि मात्रै हुँदै आएको छ । कृषिमा तालिम प्राप्त मान्छे छैनन् । कृषि उत्पादनलाई बजारको र बिचौलियाको समस्या छ,’ मन्त्री राईले भनिन्, ‘मूल्यमा एकरूपता छैन, व्यावसायिक उत्पादनका निम्ति ठूलो क्षेत्र चाहिन्छ । थोरै जग्गामा खेती गरेर हुँदै छ ।’