विराटनगर : प्रतिनिभिसभाको सार्वजनिक लेखा समितिमा परेका उजुरी अध्ययन गरी छानविन गर्न उपसमिति गठन भएको छ । लेखा समिति सभापति ऋषिकेश पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय छानविन उपसमिति गठन भएको हो ।

उपसमितिमा योगेशकुमार भट्टराई, राजेन्द्रकुमार केसी, अमनलाल मोदी र मनिष झा सदस्य रहेका छन् ।

पोखरेलका अनुसार समितिले प्राप्त उजुरी अध्ययन र छानबिन गरी निर्णयसहितको प्रस्ताव पेस गर्न उपसमिति गठन गरेको हो ।

उनले समितिको वर्तमान कार्यकाल सुरू भएयता ६६ वटा विषयमा उजुरी परेका छन् । उजुरीमध्ये टेरामक्स प्रविधि, लुम्बिनी विकास कोष, एनसेल शेयर खरिद बिक्री र बीमा कम्पनीको प्रिमियम शेयर जारीलगायतका विषयमा भने छलफल भइसकेको छ ।

अन्य उजुरीका सम्बन्धमा सम्बन्धित मन्त्रालय तथा निकायमा जवाफ माग गरिएकामा केहीको जवाफ प्राप्त भए पनि कतिपयको जवाफ प्राप्त नभएको समितिले जनाएको छ ।

यस्तै समितिको आज बसेको बैठकले बेरुजुसम्बन्धी धारणामा एकरूपता कायम गर्न समिति, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आयोजनामा सातै प्रदेशका लेखासमिति सभापति, महालेखापरीक्षक, अर्थमन्त्रालय, महानगरपालिकाका प्रतिनिधिको सहभागितामा अन्तरक्रियात्मक कार्यक्रम गर्ने निर्णय गरेको छ ।