इटहरी, २८ साउन । पूर्वमन्त्री एवं नेकपा एमालेका केन्द्रीय सदस्य भगबती चौधरीले स्थानीय स्तरमा पनि नेतृत्व हस्तान्तरण हुँदै जानुपर्ने बताएका छन् ।
नेकपा एमाले बर्जु गाउँपालिका वडा नम्बर ६ को वडा कमिटीको दोस्रो वडा अधिवेशनलाई सम्बोधन गर्दै उनले त्यस्तो बताएकी हुन् । सुनसरी क्षेत्र नम्बर ३ का सांसद समेत रहेका नेता चौधरीले राम्रो काम गर्नेहरूलाई अवसर दिनुपर्ने बताइन् । 'पार्टीलाई लगानी गर्न सक्ने व्यक्तिलाई विशेष ग्राह्यता दिनुपर्छ ।
लगानी भनेको पैसा मात्रै होइन । समय पनि दिन सक्ने व्यक्तिलाई विशेष ग्राह्यता दिनुपर्छ । पुराना पुस्ताले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्दै जानुपर्छ', पूर्वमन्त्री चौधरीले भने, 'नेतृत्व पनि हस्तान्तरण गर्दै जाओस् । किनभने गाउँ-गाउँमा नयाँ नेतृत्व स्थापित हुनुपर्छ । एकजना भगबती चौधरी मात्रै नेता बनेर हुँदैन । भगबती चौधरी जस्ता धेरै व्यक्तिहरू उत्पादन हुनुपर्छ ।'
छरिएर रहेका र ग्रासरूटमा रहेका नेतृत्वको पनि खोजी गर्नुपर्ने उनको भनाई थियो । तल्लो कमिटीमा छोटो अवधि राख्नुको कारण नै नेतृत्व हस्तान्तरण गर्दै जाने उद्देश्य रहेको नेता चौधरीले बताए ।
यसैगरी पूर्वमन्त्री चौधरीले महिला, लैङ्गिक समानताको पक्षमा काम गर्न तालिम, प्रशिक्षणको व्यवस्था गरिएको बताए । आफू छोटो समय मन्त्री बनेपनि बढी भन्दा बढी महिला, ज्येष्ठ नागरिकको पक्षमा काम गर्ने कोसिस गरेको उनको भनाई थियो ।
अर्को प्रसङ्गमा मन्त्री चौधरीले स्थानीय क्षेत्रमा पनि पर्यटकीय विकासका निम्ति सबैले पहल गर्नुपर्ने बताए । उनले भने, 'हामीले पर्यटकीय विकासका निम्ति बजेट, योजना ल्याउँछौँ । तर त्यहाँ गरिए खर्चले प्रतिफल दिनेगरी अन्य आवश्यक कामहरू पनि गर्नुपर्छ । हामीले विभिन्न संरचनाहरू निर्माण गरेका छौँ । ती संरचनाहरूलाई पनि कसरी प्रयोग गर्ने त्यसको लेखाजोखा गर्न आवश्यक छ ।'
आफू महिला मन्त्री हुँदा छोरी आत्मनिर्भर कार्यक्रमको अवधारणाले ल्याएको भन्दै उनले त्यो कार्यक्रमले छोरी-बुहारीलाई आत्मनिर्भर बनाउने बताए । 'प्रत्येक वडामा केही गर्न चाहने छोरी-बुहारीहरूका निम्ति २ लाखको दरले बिउ पुँजी दिने । जसलाई तालिम पनि दिने । जसको कारणबाट हाम्रा छोरी-बुहारीहरू आर्थिक रूपमा आत्मनिर्भर बन्न सक्छन्', पूर्वमन्त्री चौधरीले भने ।