दुहबी / दुहबी नगरपालिका–४ मा निर्माणाधीन फोहोर प्रशोधन केन्द्रलाई आधुनिक र व्यवस्थित रूपले सञ्चालन गर्न भारत सरकारद्वारा १८ करोड २५ लाख ५९ हजार ९२५ रुपैयाँ ४१ पैसा (भ्याटसहित) लगानी हुने भएको छ।
सो लगानी सम्बन्धी त्रिपक्षीय सम्झौता (MOU) आज भारतिय राजदूतावासमा हस्तान्तरण गरिएको छ। सम्झौतामा नेपाल सरकारको अर्थ मन्त्रालय, भारतीय राजदूतावास र दुहबी नगरपालिकाका नगरप्रमुख वेद नारायण गच्छादार सहभागी रहे।
सम्झौता अनुसार एक हप्ताभित्र परियोजनाको ठेक्का प्रक्रिया शुरु गरिने र काम संचालनमा ल्याइने छ।
नगरप्रमुख गच्छादारका अनुसार, “४६ सालपछि पहिलो पटक दुहबीमा यस्तो ठूलो परकीय लगानी आउन लागेको हो। यो सफलता हाम्रो नगरका लागि ऐतिहासिक हो, र यसले आगामी दिनमा अन्य क्षेत्रहरूमा पनि विदेशी लगानी ल्याउने बाटो खुल्नेछ,” उहाँले बताउनुभयो।
अक्टोबर ६, २०२५ मा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रबिलाल पन्त र भारतीय राजदूतावासका अभिनाश कुमार सिंहबीच लगानी सहमति भएको थियो।
कोशी प्रदेश लगानी सम्मेलन मार्फत निजी क्षेत्रका लगानीकर्तासँग निरन्तर संवाद र पहल गर्दै आएका मेयर गच्छादारकै सक्रियतामा यो योजना अघि बढेको हो।
नगर प्रमुख गच्छादारले भने “विकासका लागि सरकार मात्र होइन, विदेशी लगानी र निजी क्षेत्रको सहकार्य पनि अत्यावश्यक छ। यो साझेदारीले दुहबीको फोहोर व्यवस्थापनमा नयाँ अध्याय सुरु गर्नेछ।”
भारतिय राजदूतावासले यस परियोजना उच्च प्रभावकारी सामुदायिक विकास कार्यक्रम (High Impact Community Development Project) अन्तर्गत सञ्चालन गर्न लागेको जनाएको छ।


