इटहरी / नेपाल उद्योग परिसंघ सुनसरीको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ। संघीय संसद तथा नेपाल सरकारका सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलको प्रमुख अतिथ्यता तथा परिसंघका अध्यक्ष अनिल अग्रवालले अध्यक्षतामा इटहरीमा भएको कार्यक्रममा उद्योग क्षेत्रका महत्वपूर्ण हस्तीहरूलाई एउटै मञ्चमा उभ्याउँदै, परिसंघले आफ्नो आगामी रणनीतिहरू र योजनाहरू अगाडि सारेको छ। कार्यक्रममा उद्योग परिसंघ सुनसरीका ५१ जना सस्थापक आजीवन सदस्यहरूलाई प्रमाणपत्र वितरण गरिएको छ ।
कार्यक्रममा बिशिष्ट अतिथि परिसंघका केन्द्रीय अध्यक्ष राजेश अग्रवाल, केन्द्रीय उपाध्यक्ष भिम घिमिरे, कोशी प्रदेश अध्यक्ष पवन सारडा, दुहवी नगरपालिका प्रमुख बेद गछदार, सुनसरी प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारी लगायत उधोगि ब्यवसायीको उपस्थिति रहेको थियो ।
कार्यक्रममा अध्यक्ष अनिल अग्रवालले नेपाल उद्योग परिसंघ सुनसरीको लक्ष्य र आगामी दिनमा गर्ने योजनाहरूको बारेमा जानकारी दिनुभयो। उहाँले उद्योगहरूको संगठनले मात्र होइन, यसले समग्र उद्योग क्षेत्रको प्रवर्द्धन र विस्तारमा खेल्ने भूमिकाको बारेमा चर्चा गर्नुभयो। उहाँका अनुसार, परिसंघले औद्योगिक विकासलाई मात्र होइन, उद्यमशीलतालाई पनि सशक्त बनाउने योजना बनाएको छ, जसले उद्योग क्षेत्रलाई समृद्ध बनाउन महत्वपूर्ण योगदान दिनेछ।
परिसंघ केन्द्रीय उपाध्यक्ष भिम घिमिरेले उद्योग परिसंघ सुनसरीले उद्योग क्षेत्रको विकासमा आफ्नो भूमिका अझ सशक्त बनाउँदै स्थानीय र राष्ट्रिय उद्योग क्षेत्रको प्रगतिमा महत्वपूर्ण योगदान पुर्याउने बिस्वास ब्यक्त गर्नुभयो
प्रमुख अतिथि ऋषिकेश पोखरेलले कार्यक्रमलाई सम्बोधन गर्दै उद्योग क्षेत्रको विकासका लागि सरकारको सक्रियता अपरिहार्य रहेको बताउनुभयो। उहाँले भन्नुभयो, "उद्योगहरू आर्थिक विकासका प्रमुख आधार हुन्। यसैले सरकार र नीति निर्माताहरूले उद्योगहरूको समस्या समाधानमा प्राथमिकता दिनुपर्दछ।" सरकारले उद्योगहरूको समस्या समाधानमा प्राथमिकता दिन सके उद्योगहरूको विकाससँगै राष्ट्रको आर्थिक वृद्धि सुनिश्चित हुने बताउनुभयो ।
कार्यक्रम सञ्चालन गर्दै उद्योग परिसंघ सुनसरीका महासचिव दिवाकर पौडेलले आगामी दिनमा उद्योग क्षेत्रको प्रगतिको लागि अझ प्रभावकारी कदमहरू चाल्दै उद्यमशीलता क्षमता परिचालन गरेर राष्ट्रलाई समृद्ध बनाउने बताउनुभयो।