इटहरी / इटहरीमा ६० औ बाल दिवसको अवसरमा आयोजना गरिएको विभिन्न कार्यक्रम तथा प्रतियोगिताका विजेताहरूलाई पुरस्कार वितरण गरिएको छ ।
नगर बाल सञ्जाल इटहरीले बाल दिवसको अवसरमा आयोजना गरेको गायन प्रतियोगिता, अन्तर विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता ,चित्रकला प्रतियोगिता, वक्तृत्वकला प्रतियोगिता, कविता प्रतियोगिता लगायतका कार्यक्रमका विजेताहरूलाई पुरस्कार वितरण गरिएको हो ।
नगर बाल सञ्जाल इटहरीका अध्यक्ष विभुति काफ्लेको अध्यक्षता तथा इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलको प्रमुख आतिथ्यतामा पुरस्कार वितरण कार्यक्रम गरिएको थियो । गायन प्रतियोगिताबाट प्रथम स्मारिका नेपाल, दोस्रो खगेन्द्र विश्वकर्मा र तेस्रो शुक्रराज राईलाई नगद, प्रमाण पत्र खादा सहित पुरस्कार वितरण गरिएको थियो ।
बालबालिकामा गायन तर्फ सिम्ला धिताल र खेलकुद तर्फ स्वीकार चौधरीलाई दोसल्लाले सम्मान गरिएको थियोे ।। अन्तर विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता ,चित्रकला प्रतियोगिता , वक्तृत्वकला प्रतियोगिता , कविता प्रतियोगिता लगायत विधामा प्रथम दोस्रो तेस्रो हुनेलाई नगद र प्रमाण पत्र सहित पुरस्कार प्रदान गरिएको छ ।
नगरपालिकाले विभिन्न विद्यामा विभिन्न विषयका कार्यक्रम गरी बालबालिकाको क्षमता अभिवृद्धि गर्दै आएको इटहरी उप महानगरपालिकाका उप प्रमुख सङ्गीता कुमारी चौधरीले बताउनुभयो । नगरपालिकाले बालबालिकाको लागि विभिन्न विषयमा बजेट छुट्टाएको समेत उहाँले जानकारी दिनुभयो ।
इटहरी उपमहानगरपालिकालाई २०८४ मा बालमैत्री नगर घोषणा गर्ने लक्ष्य रहेको इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले बताउनुभयो । बालबालिका हिंसा मुक्त नगर बनाउन उपमहानगर प्रतिबद्धता रहेको समेत बताउनुभयो ।
यता इटहरी उपमहानगरपालिकालाई बालमैत्री बनाउन इटहरी उपमहानगरपालिका र विभिन्न सङ्घ संस्थाले सहयोग गर्न नगर बाल सञ्जाल इटहरीका अध्यक्ष विभुति काफ्लेले आग्रह गर्नु भयो ।
कार्यक्रममा इटहरी उपमहानगरपालिकाका प्रवक्ता तथा इटहरी वडा नम्बर ६ का वडा अध्यक्ष दिवस पोख्रेल , इटहरी उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष रतन कार्की, इटहरी ५ का वडा अध्यक्ष भीष्मराज घिमिरे लगायत इटहरीका विभिन्न वडाका वडा अध्यक्ष , विभिन्न सङ्घ संस्थाका प्रतिनिधि ,नगर बाल सञ्जाल इटहरी सदस्य , बाल क्लबका सदस्यहरूको सहभागिता रहेको थियो ।

