इटहरी । किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २३ औं वार्षिक साधारण सभा बिहीबार इटहरी पार्टी प्यालेसमा सम्पन्न भएको छ । साधारण सभाको अध्यक्षता संस्थाका अध्यक्ष शालिकराम ढकालले गर्नुभएको थियो । साधारण सभामा संस्थाको स्थापना, प्रगति, र आगामी योजनाहरूको समिक्षा गरिएको थियो । सुरुमा ३४ जना व्यक्तिबाट र रु १७ सयको पुँजीबाट प्रारम्भ भएको यो संस्था हाल सुनसरी जिल्लाका ७ ठाउँमा सेवा केन्द्रहरू सञ्चालन गर्दै २३ हजार ३ सय ६८ जना सेयर सदस्य सम्म विस्तार भएको छ । संस्थाको सेयर पुँजी १३ करोड ९७ लाख ५८ हजार रुपैयाँ रहेको छ भने १ करोड ३१ लाख १२ हजार ५२ रुपैयाँ ऋण लगानी गरिएको प्रतिवेदनमा उल्लेख छ । संस्थाले कुल १८ करोड ६० लाख ७९ हजार १ सय ६६ रुपैयाँको आम्दानी गरेको छ भने साधारण सभामा उत्कृष्ट सेयर सदस्यहरूलाई सम्मान गरिएको छ । सभामा संस्थाका प्रमुख कार्यकारी अधिकृत पुष्कर बस्नेतले आगामी वर्षका योजनाहरू सार्वजनिक गर्दै संस्था मात्रात्मक र गुणात्मक रूपमा दुवै सुधार गर्दै गएको जानकारी दिनुभयो । अध्यक्ष शालिकराम ढकालले संस्थाको पारदर्शिता कायम राख्न साधारण सभाको आवश्यकता अनिवार्य भएको उल्लेख गर्दै, आगामी दिनमा सेयर सदस्यहरूले संस्था द्वारा आयोजना गरिने सबै कार्यक्रमहरूमा अनिवार्य रूपमा सहभागी हुनु पर्ने कुरा बताउनुभयो। साधारण सभामा संस्थाका उपाध्यक्ष नरेन्द्रकुमार श्रेष्ठ, कोषाध्यक्ष यादव प्रसाद सिग्देल, सञ्चालक सदस्य गणेश बहादुर भण्डारी, अनिता चापागाईँ, लेखा सुपरिवेक्षण समिति सदस्य खेमनाथ न्यौपाने, जिल्ला सहकारी संघका अध्यक्ष गंगा प्रसाद दाहाल लगायत संस्थाका थुप्रै सेयर सदस्यहरूको उपस्थिति रहेको थियो । सहकारी संस्था विभिन्न सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक कार्यहरूमा पनि संलग्न हुँदै आएको छ, जसले यसलाई समाजका विभिन्न तहमा लोकप्रिय बनाएको छ ।