विदेशमा रहेका श्रमिकको परिवारलाई सामाजिक सुरक्षा कोष मार्फत सुविधा पाउने पहिलो लाभार्थी बने धरानका सुवेदी परिवार
इटहरी । नेपाल सरकारले सामाजिक सुरक्षा कोष मार्फत वैदेशिक रोजगारीमा गएका श्रमिकहरुको परिवारलाइ समेत हुने गरी औषधि उपचार सुविधा लागू गरेको छ । २०८१ जेठ १७ देखि लागू भएको कार्यक्रममा वैदेशिक रोजगारीमा रहने श्रमिकले कम्तिमा ३ महिना कोषमा योगदान गरेपछी सुविधा लागू हुने गरेको छ । सुनसरी जिल्लाको धरान उपमहानगरपालिका, पानबारी निवासी भिम प्रसाद सुवेदीको परिवार पहिलो पटक उक्त सुविधा पाउने श्रमिक परिवार रहनुभएको छ ।
सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारीमा गएका श्रमिकका परिवार सहितको औषधि उपचारका अलावा निज श्रमिक दुर्घटनामा परी नेपालमा आइ उपचार गराउदाको हकमा वार्षिक सात लाख रुपैयाँ बराबरको उपचार सुविधा तथा निज काममा नफर्के सम्म न्यूनतम आधारभूत तलबको आधारमा मासिक रकम समेत पाउछन् । साथै वैदेशिक रोजगारीको शिलसिलामा मृत्यू भएमा श्रमिकको आश्रित श्रिमान ,श्रिमति तथा अविवाहितको हकमा आश्रित वुवाआमाले न्यूनतम आधारमूत तलबको आधारमा आजिवन मासिक पेन्सन समेत पाउँदछन् भने छोराछोरीले २१ वर्ष उमेर सम्म शैक्षिक वृत्ति वापतको रकम समेत प्राप्त गर्न सक्छन् ।
कोषले अन्तिम सँस्कार वापत रु २५ हजार रकम समेत प्रदान गर्दै आएको छ । कोषले बैदेशिक रोजगार संगै ४ वटा क्षेत्रमा कार्यगर्दै आएको सामाजिक सुरक्षा कोष विराटनगरका शाखा प्रबन्धक दीपकराज भट्टले बताउनुभयो । वैदेशिक रोजगारीमा जाने श्रमिकको सन्तान जन्मिएमा कोषले नेपाल सरकारले तोकेको न्यूनतम आधारभूत पारिश्रमिक बराबरको रकम शिशु स्याहार खर्च समेत पाउने व्यवस्था गरेको छ । सम्पूर्ण सुविधा प्राप्त गर्नका लागि कोषमा योगदान भने नियमित गरिएको हुनुपर्दछ । वैदेशिक रोजगारीमा जाने श्रमिक नेपाल फर्किएपछी निजको अवकाश उमेर पश्चात कोषले आजिवन पेन्सनको समेत व्यवस्था गरेको छ ।