इटहरी । छठ पर्वका लागि चाहिने केरा, नरिवल, उखु लगायतका सामग्री किन्न मोरङका विभिन्न बजारमा भीड लागेको छ । छठ पर्वको मुख्य दिनको अघिल्लो दिन विराटनगरमा अहिले छठ पर्वका लागि किनमेल गर्नेहरुको घुँइचो लागेको हो । छठका लागि विशेष रुपमा चाहिने केरा र नरिवल जस्ता सामग्री स्थानीय रुपमा उपलब्ध भएपनि उखु लगायत अन्य फलफूल भने भारतिय बजारहरुबाट ल्याइने गरिएको छ । यसपटक छठ सामग्रीहरुको मुल्य अत्यधिक बढेको उपभोक्ता र व्यापारीहरुले बताएका छन् । भारतबाट नरिवल, केरा लगायतका सामग्री आयात गर्न नदिदा छठ सामग्रीहरुको मुल्य बढेको र यसका कारण उपभोक्ताहरु छिमेकी सिमावर्ती बजार जोगबनी तर्फ आकर्षित भएको व्यापारीहरुले बताएका छन् । बाँसका ढाकी, कुनिया लगायतका सामग्री पनि छठ पूजाका लागि अनिवार्य मानिने भएकाले यसको मुल्य पनि बढेको छ । अन्य सामानको मुल्य बढेपनि माटोको सामग्रीको मुल्य भने गत वर्ष भन्दा केही घटेको उपभोक्ताहरुले बताएका छन् । छठ पर्वका बेला मोरङमा करिब १ करोड रुपैया बराबरको केरा, नरिवल, उखु, तथा अन्य सामग्रीहरुको किनबेच हुने गरेको स्थानीय व्यापारीहरु बताउछन् ।