इटहरी । मोरङको दौतरी बलिया बचत तथा ऋण सहकारी संस्थाको ५ औं साधारण सभा सम्पन्न भएको छ । दौतरी बलिया बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष उमेश वस्तीको अध्यक्षता तथा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघका महासचिव घनश्याम अधिकारीको प्रमुख अतिथ्यतामा मोरङ सुन्दरहरैंचा नगरपालिका वडा नम्बर – ४ मा रहेको दौतरीबलिया बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ५ औं साधारण सभा सम्पन्न भएको हो । दौतरीबलिया बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष उमेश वस्तीले २०८०÷८१ को वार्षिक प्रतिवेदन तथा नीति कार्यक्रम बजेट प्रस्तुत गर्नुभएको थियो । संस्थाको प्रगति प्रतिवेदन संस्थाका सचिव रामकुमार कालाखेतीले प्रस्तुत गर्नुभएको थियो । संस्थाको दिगो र भरपर्दो विकासको लागि नीति र नियमको पालना सुनिश्चित गर्दै नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेडसँग सम्झौता समेत गरिएको छ । सहकारीहरूलाई दिगो र भरपर्दो बनाउँदै लैजान सहकारीका पदाधिकारीहरूको महत्त्वपूर्ण भूमिका रहने कार्यक्रमका अतिथी, नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघका पूर्व महासचिव र पूर्व प्रतिनिधि सभा सदस्य घनश्याम खतिवडाले बताउनुभयो । पूर्वकै सर्वोकृष्ट संस्था भएकाले बचत कर्ताको हकहितका काममा अगाडि बढेर सेवा मुलक कार्य गर्दै संस्थाले राम्रा काम गरेर देखाउन आवश्यक रहेको नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघका महासचिव घनश्याम अधिकारीले बताउनुभयो । संस्थाको २५ करोड ९१ लाख बढी पूँजी रहेको छ ।
संस्थाले आफ्नो अनलाइन बैङ्किङ खाताबाट सेयर सदस्यलाई सरल तरिकामा सेवा प्रदान गर्दै आएको छ । साथै, संस्थाले नयाँ कार्यसमिति गठन गर्ने निर्णय गरेको छ । कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेडका सञ्चालक सदस्य शालिकराम ढकाल, प्रदेश बचत तथा ऋण सहकारी संघ कोशी प्रदेशका अध्यक्ष हरिप्रसाद सुवेदी, सुन्दरहरैचा नगरपालिका वडा नं. ४ का वडाध्यक्ष तथा संस्थाका निवर्तमान कोषाध्यक्ष कैलाश बस्नेतले संस्था सम्बन्धी आफ्ना विचार व्यक्त गर्नुभएको थियो । यस कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघका कोषाध्यक्ष डी. बी. थापा, सुन्दरहरैचा नगरपालिका वडा नं. ५ का वडाध्यक्ष गणेश चौधरी, संस्थाका सेयर सदस्य र कर्मचारीहरूको बाक्लो सहभागिता रहेको थियो ।

