इटहरी । धरान उपमहानगरपालिका–१५ निराजन बस्तीदेखि धरान–४ देवीगाउँ हुँदै धनकुटा र मोरङ जोड्ने १७ किलोमिटर सडक पुनःनिर्माण कार्य सुरु गरिएको छ । पाँच वर्षदेखि यो सडक निर्माण रोकिएपछि स्थानीयलाई आवतजावत गर्न निकै गाह्रो भएको थियो । मंगलबार कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राई र धरान–४ का वडाध्यक्ष धनबहादुर राई सहितको टोलीले सडकको स्थलगत अनुगमन गरेको हो । मन्त्री राईले निर्माण कार्य ठेकेदारको लापरबाहीका कारण समयमा पूरा हुन नसकेको बताउँदै पुनः ढिलाइ भएमा ठेकेदारलाई कालोसूचीमा राख्ने चेतावनी दिनुभयो । सडक निर्माणको ठेक्का लुम्बिनी गजुरमुखी जेभीले २०७६ असोजमा लिएको थियो । रु. ३७ करोड २३ लाखको लागतमा सुरु भएको परियोजनाको लागत अहिले रु. ४० करोड २७ लाख पुगेको छ । तीन पटक म्याद थपिएको यस सडक निर्माण कार्य २०७८ भित्रै सम्पन्न गर्ने सम्झौता भए पनि काम अलपत्र परेको थियो । मन्त्री राईले कोशी प्रदेशमा निर्माणाधीन भौतिक पूर्वाधारमध्ये ४७ प्रतिशत मात्र कार्यान्वयनमा गएको बताउँदै, बाँकी कामलाई समयमै पूरा गर्न ठेकेदारहरूलाई जिम्मेवार बनाउन कानुनी प्रक्रिया अगाडि बढाइने बताउनुभयो । यो सडक पुनःनिर्माणले स्थानीयलाई आवतजावतको सुविधा दिनुका साथै क्षेत्रीय विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

