इटहरी। झापाको दमकमा रहेको बिस्कुट तथा पाउरोटी उद्योगमा दमक नगरपालिकाले सिल गरेको छ । त्यहाँ उत्पादन भएका बिस्कुटहरु जफत गरी नष्ट गर्दै सो उद्योग सिल गरेको हो ।  फोहोरमैला व्यवस्थापन गर्ने मेशिनबाट बिस्कुट नष्ट गरेको छ । दर्ता नगरी र मापदण्ड विपरीत दमक वडा ५ मा सञ्चालनमा आइरहेको उद्योग बन्द गराइएको दमक नगरपालिकाले जनाएको छ । कुनै पनि लेबल टाँस नगरी, उत्पादन र उपभोग्य मितिसमेत नहाली उत्पादन गरिरहेको सूचनाका आधारमा दमक नगरपालिकाको खाद्य शाखाको टोलीले अनुगमन गरेको थियो । उत्पादन गर्ने उद्योगको नाम तथा ठेगानादेखि लिएर केही पनि उल्लेख नभएको र उत्पादित बिस्कुटमा अखाद्य रङ मिसाएको पाइएकाले सबै जफत गरेर नष्ट गरिएको दमक नगरपालिका खाद्य शाखा प्रमुख लक्ष्मी न्यौपानेले बताउनुभयो । पछिल्लो समय दमक नगरपालिकाले मापदण्डविपरीत उत्पादन भएका बेकरी तथा बिस्कुट बिक्री वितरणमा रोक लगाएको छ ।