भेटेनरी अस्पताल तथा पशुविज्ञ सेवा केन्द्र सुनसरीले मत्स्य व्यवसायी कृषकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरी प्रमुख डाक्टर मनोजकुमार मेहताको अध्यक्षता तथा पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय कोशी प्रदेशका निर्देशक डा. पशुपति ढुङ्गानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वरिष्ठ मत्स्य विकास अधिकृत शीतल भट्टराईले प्रशिक्षण गर्नुभएको थियो।
सुनसरीका विभिन्न पालिकाबाट मत्स्यपालक कृषकहरूको उपस्थिति भएको कार्यक्रममा कृषकहरुले माछापालन गर्दा भइरहेका समस्या, समाधानका उपाय, र राज्यले दिने सेवा सुविधा लगायतका विषयमा आफ्ना भनाइ राखेका थिए ।

कार्यक्रममा मत्स्य विकास अधिकृत शीतल भट्टराईले माछा पाल्ने व्यवसायीलाई माछा पालनमा आइपर्ने समस्या, माछामा लाग्ने रोग, औषधि लगायतका विषयमा जानकारी गराउनु भएको थियो। पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय कोशी प्रदेशका निर्देशक डाक्टर पशुपति ढुङ्गानाले राज्यले माछापालक कृषकहरूका लागि ल्याएका विभिन्न योजना हरु अगाडि बढाइरहँदा राजनीतिक तथा सामाजिक रूपमा केही समस्याहरू देखिरहेका छन्। ती समस्याहरूलाई समाधान गर्न आवश्यक नीति तथा कार्यक्रम बनाएर अघि बढिराखिएको बताउनुभयो।

त्यस्तै भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सुनसरीका प्रमुख डाक्टर मनोज कुमार मेहताले कृषि भेटनरी लगायतका विषयमा सुनसरी जिल्लाका विभिन्न पालिकामा पुगेर कृषकहरूसँग सहकार्य गरी सेवा दिइरहेको र अबका दिनमा पनि सेवालाई चुस्तदुरुस्त बनाउन कृषकहरूसँग सहकार्य गरिरहने बताउनुभयो



