काठमाण्डौ । बढ्दो बसाइँसराइ र कृषि भूमिमा घर तथा आवास निर्माण गर्ने क्रम बढेपछि कोशी प्रदेशमा कृषि बालीले ढाकेको क्षेत्रफल घटेको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०र८१ को प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनमा आर्थिक वर्ष २०७९र८० को तुलनामा कोशी प्रदेशमा समग्र कृषि बालीले ढाकेको क्षेत्रफल एक दशमलव ५५ प्रतिशतले घटेको उल्लेख छ । कृषि भूमि घटन जाँदा धान, मकै, कोदो, आलु, भटमास, सुन्तला, बेसारलगायत बालीले ढाकेको क्षेत्रफल घटेकाले समग्र कृषि बालीले ढाकेको क्षेत्रफल कम भएको हो । कोशी प्रदेशमा समग्र कृषि उपजले ढाकेको क्षेत्रफलमध्ये खाद्य तथा नगदे बालीले ढाकेको क्षेत्रफल ८७ दशमलव ९२ प्रतिशत, तरकारी बालीको पाँच दशमलव ११ प्रतिशत र अन्य बालीले ढाकेको क्षेत्रफल छ दशमलव ९७ प्रतिशत छ । कृषि उपजले ढाकेको कुल क्षेत्रफलमा धान, मकै, गहुँ, र कोदो बालीले ढाकेको क्षेत्रफलको हिस्सा ७१ दशमलव ६४ प्रतिशत छ । आव २०८०र८१ मा कोशी प्रदेशमा समग्र कृषि बालीको उत्पादन भने एक दशमलव १३ प्रतिशतले वृद्धि भएको छ ।


