इटहरी। कोभिड सङ्क्रमणका कारण तहसनहस बनेको नेपाली चियाको विदेशी बजार विस्तार हुन थालेको छ । उत्पादकका अनुसार यस वर्ष उत्पादन भएको तयारी चिया पूर्ण रूपमा निर्यात भइसकेको छ । तयारी चिया करिब सक्किएको इलामको साँखेजुङस्थित ग्रिनहिल टी इन्डस्ट्रिजका सञ्चालक टङ्क दाहालले बताउनुभयो । यसैबिच नेपाली चियाको निर्यात बढाउन केन्द्रीय चिया सहकारी सङ्घले नेपालको सहकारी र फ्रान्सको एक सहकारीसँग सम्झौता गरेर चिया निर्यात थालेको छ । फ्रान्सको ‘इक्युटेबल कोअपरेटिभ’ सँग वार्षिक सम्झौता गरी चिया निर्यात थालेको सङ्घले जनाएको छ । विभिन्न विदेशी संस्थाबाट निरन्तर अर्गानिक प्रमाणीकरण भइरहेका सहकारीको चिया पठाउन थालिएको सङ्घका महासचिव रविन राईले बताउनुभयो । तेस्रो मुलुक निर्यात हुने चियाका लागि अर्गानिक प्रमाणीकरण पहिलो सर्त नै हुने गरेको छ । अहिलेसम्म विदेशी संस्था सेरेस, नासा, आइएमओलगायतबाट अर्गानिक प्रमाणीकरण भइरहेको छ । अर्गानिक प्रमाणीकरण गर्न निकै खर्चिलो हुने भएकाले धेरै किसानले प्रमाणीकरण गर्न नै सक्दैनन् तर प्रमाणीकरण निरन्तर भइरहेको प्रमाणपत्र भएका सहकारीको भने तयारी चिया विदेश पठाउन सजिलो भएको महासचिव राईको भनाइ छ । इलामका अहिलेसम्म हिमालयन साङ्ग्रिला, गोर्खा टी स्टेट, पाँचथरको कञ्चनजङ्घा टीलगायतका ठुला र केही साना चिया उद्योगले अर्गानिक प्रमाणीकरण पछि आफ्नो उत्पादन तेस्रो मुलुक पठाइएको बताइएको छ । उत्पादकका अनुसार यस वर्ष उत्पादनको ६० प्रतिशत चिया भारत निकासी भएको छ । त्यस्तै ४० प्रतिशत चिया तेस्रो मुलुक निर्यात भएको छ । नयाँ बोटबाट उत्पादन, गुणस्तरीय चिया र स्वादिलो हुन र भारतमा उत्पादन घट्नुले पनि पनि नेपाली चियाको माग उच्च भएको उत्पादकले बताएका छन् ।


