इटहरी । झापाको प्रमुख व्यापारिक केन्द्र बिर्तामोडमा दुई लाख अवलोकनकर्ता भित्र्याउने लक्ष्यका साथ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको तयारी पूरा भएको छ । कोशी प्रदेशको अर्थतन्त्रलाई चलायमान तुल्याउने र स्थानीय उत्पादनको प्रवर्द्धन गरिने महोत्सवमा एक सय ५० सुविधासम्पन्न व्यापारिक प्रर्दशनी कक्ष रहने बिर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजु न्यौपानेले बताए । मंगलबार देखि माघ १९ गतेसम्म बिर्तामोडको वडा नम्बर ५ मा महोत्सव सञ्चालन हुने भएको हो । जहाँ एक सय १८ प्रर्दशनी कक्ष अट्ने नेपालको सबैभन्दा ठूलो ह्याङ्गर प्रयोगमा ल्याइने भएको छ । हाल ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव’ को प्राविधिक तयारी अन्तिम चरणमा पुगेको छ । प्रर्दशनी कक्ष निर्माण सम्पन्न भइसकेको महोत्सव मूल आयोजक समितिका व्यवस्थापक ललित सिम्खडाले बताए । महोत्सवमा सुनदेखि नूनसम्मका स्वदेशी उत्पादन र गाडीदेखि गार्मेन्टसम्मका विदेशी उत्पादन राखिएको प्रर्दशनी कक्ष अवलोकनकर्ताका लागि आकर्षणको केन्द्र बन्नेछन् । महोत्सवमा अवलोकनकर्ताको आगमन बढाउन मनोरञ्जनमूलक कार्यक्रमसमेत सञ्चालन गरिने भएको छ । हरेक दिन कलाकारको साङ्गीतिक प्रस्तुति रहने भएको छ भने स्थानीय मौलिक पहिचान झल्किने कार्यक्रम राखिने व्यवस्थापक सिम्खडाले जानकारी दिए । बिर्तामोड उद्योग वाणिज्य सङ्घले विगत लामो अवधिदेखि औद्योगिक तथा व्यापार महोत्सवको आयोजना गर्दै आएको छ ।


