इटहरी । मोरङको पथरी शनिश्चरे नगरपालिका–२ ले विपन्न परिवार छनोट गरी रासन र रासन कार्ड वितरण गर्न सुरु गरेको छ । सोमबार वडा कार्यालयले माघ महिनाबाट वडाका २० विपन्न परिवारलाई छनोट गरी राहत वितरण सुरु गरेको हो । पहिलो चरणमा अति विपन्न २० परिवारलाई वडा समितिले छनौट गरी रासन प्रदान गरिएको वडाध्यक्ष नैना राईले जनाउनु भएको छ । उहाँले विपन्न ३ जनाको परिवारलाई १० केजी चामल र ३ जना भन्दा बढीको परिवारलाई महिनैपिच्छे १५ केजीको दरले चामल उपलब्ध गराउँदै जाने वडा समितिको उद्देश्य रहेको बताउनुभयो । उहाँले यस चालु आर्थिक वर्षको लागि एक लाख रुपैयाँ मात्र बजेट छुट्याएर वडा भित्रका अति विपन्न परिवारलाई रासन र रासन कार्ड वितरण कार्यक्रम सुरूवात गरिएको उल्लेख गर्नुभयो ।


