इटहरी । विराटनगर–भद्रपुर हुलाकी राजमार्ग अन्तर्गत मोरङको रतुवामाई नगरपालिका र झापाको गौरीगन्ज गाउँपालिका जोड्ने रतुवाखोलामा १७ वर्षपछि पुल निर्माण भएको छ । पुल सञ्चालनमा आएपछि हिउँदमा भाटेपुल र वर्षायाममा डुङ्गामा पैसा तिरेर आवतजावत गर्नुपर्ने समस्या हटेको छ । दुवैतर्फको पुललाई जोड्ने पहुँचमार्ग भने अझै निर्माण हुन सकेको छैन । पुल निर्माणका लागि मोरङ–सुनसरी पुल आयोजनाले आर्थिक वर्ष २०६४र६५ मा कालिका–ओसिए जेभीलाई १० करोड ३२ लाख रुपियाँमा ठेक्का लगाएको थियो । त्यसबेला २०४।८ मिटर मात्रै पुल निर्माण भयो । अधुरै रहेको पुल खोलाको बिच भागमा थियो । झापातर्फ २६ मिटरको एउटा स्पान र मोरङतर्फ ५० मिटरका दुई वटा स्पान थप गरी बिचको पुलसँग जोडेपछि पुल सञ्चालनमा आएको हो । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीका सूचना अधिकारी इन्जिनियर उपेन्द्र दासका अनुसार पुलको शिलान्यास कहिले भएको मिति यकिन छैन तर स्थानीयले तत्कालीन उपप्रधान तथा भौतिक योजनामन्त्री विजयकुमार गच्छदारले पुलको शिलान्यास २०६६ सालमा गर्नुभएको बताएका छन् । पटक पटक म्याद थपेर पनि काम सम्पन्न नभएपछि यो पुल २०७९ सालमा दोस्रो पटक ठेक्का लागेको थियो । हुलाकी राजमार्ग कार्यालयका सूचना अधिकारी दासका अनुसार ७६।३ मिटर थप पुलको संरचना निर्माणका लागि देव एन्ड सायररसमतारआशिषदीप जेभीसँग २०७९ पुस १७ गते २२ करोड १२ लाख ३७ हजार ६५८ रुपियाँमा ठेक्का सम्झौता भएको थियो । सम्झौता अनुसार काम सम्पन्न भएको छ । रतुवाखोलामा पुल निर्माण भएपछि झापा र मोरङका दक्षिण क्षेत्रका सर्वसाधारणलाई हुलाकी मार्ग हुँदै कोशी प्रदेशको राजधानी विराटनगर आउजाउ गर्न सहज भएको छ । पुलको सुरक्षाका लागि झापातर्फ ६५० र मोरङतर्फ एक हजार चार सय मिटरको तटबन्ध पनि निर्माण भइरहेको छ । हुलाकी राजमार्ग आयोजनाका अनुसार विराटनगरदेखि भद्रपुरसम्मको ९४ किलोमिटर लम्बाइको यस सडकमा अझै चार वटा पुल निर्माण गर्न बाँकी छन् । जसमध्ये तीन वटा अस्थायी रूपमा सञ्चालन भएका छन् भने कनकाई पुल अझै अधुरो छ । पुलबाहेक झापा खण्डमा कालोपत्रेको काम सकिएको छ । मोरङको चेका पुलदेखि सिङ्घियाखोलासम्मको १३ किलोमिटर सडक लामो समय रोकिएर पुल निर्माण सुरु भएको सूचना अधिकृत दासले बताउनुभयो । हाल सञ्चालनमा रहेको विराटनगर–इटहरी–बिर्तामोड–भद्रपुर सडकको दुरीभन्दा विराटनगरसँग भद्रपुरलाई जोड्ने यो सडक २४ किलोमिटर छोटो छ ।


